June 25th, 2016

अमेरिकमा ७ जनामध्ये १ जना गरीब

poorअन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले उच्च गरिबी दरप्रति अमेरिकालाई चेतावनी दिएको छ । कोषको अर्थतन्त्रको वार्षिक मूल्यांकनमा अमेरिकामा गरिबीको दर उच्च रहेको देखिएको छ । अमेरिकामा प्रत्येक ७ मा १ गरिबीमा जीवनयापन गरिरहेको कोषले जनाएको छ । यसको तत्काल समाधान गरिनु आवश्यक भएको सुझाव कोषले दिएको छ । न्यूनतम ज्याल वृद्धि गर्नुपर्ने र महिलालाई काममा प्रोत्साहनका लागि सुत्केरी बिदा दिनुपर्ने सुझाव दिइएको छ । 

प्रतिवेदमा चालू वर्षका लागि अमेरिकाको वृद्धि प्रक्षेपणलाई पनि अघिल्लो २.४ प्रतिशतबाट कटौती गरेर २.२ प्रतिशत कायम गरिएको छ । मन्द विश्वव्यापी वृद्धि र कमजोर उपभोक्ता खर्चका कारण अमेरिकी वृद्धि प्रक्षेपणलाई कटौती गरिएको हो । चालू वर्षको पहिलो त्रैमासिक अवधिमा अमेरिकाको आर्थिक वृद्धि ०.५ प्रतिशतमा झरेको छ । यो गत वर्षको अन्तिम त्रैमासको १.४ प्रतिशतको दाँजोमा ठूलो अन्तरले कम हो ।

तर, बलियो श्रम बजारको अर्थ समग्र अमेरिकी अर्थतन्त्र राम्रो अवस्थामा भएको कोषकी प्रबन्ध निर्देशक क्रिस्चिन लेगार्डले बताइन् । मेको बेरोजगारी तथ्यांकले बेरोजगारी दर ४.७ प्रतिशतसहित ८ वर्षकै न्यून भएको देखाएको छ । गरिबीले ठूलो सामाजिक खराबी ल्याउने मात्र नभई श्रम बलको सहभागितामा समेत असर पार्ने चेतावनी लेगार्डले दिइन् । यस्तो अवस्थाले शिक्षामा लगानी गर्ने क्षमतामा कमी ल्याउने र स्वास्थ्य क्षेत्रको अवस्थामा सुधार ल्याउनबाट अवरोध सिर्जना गर्ने धारणा उनको थियो । सहभागिता, उत्पादनशीलता, धु्रवीकरण र गरिबीलाई ध्यान नदिने हो भने यसले वृद्धिलाई पनि तल झार्ने र अमेरिकीको जीवनस्तर पनि खस्किने उनले बताइन् ।

प्रतिवेदनले अमेरिकालाई शिक्षामा धेरै लगानी गर्नका लागि आग्रह गरेको छ । साथसाथै राम्रो सामाजिक कार्यक्रमहरू जस्तै गरिब अमेरिकीलाई रोजगारी प्राप्त गर्नका लागि सहयोग गर्न शिशु स्याहारका कार्यक्रम कार्यान्वयन गर्न प्रतिवेदनले आग्रह गरेको छ । एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]