August 21st, 2017

अध्ययन बीना सेयरमा लगानी नगर्नुस्

सेयर बजारमा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो मात्रामा रहेको छ । सेयर कारोबारबाट धेरै मान्छे खर्बपति भएका छन् भने कतिपय मान्छेहरुले लगानी गुमाएका पनि छन् । सेयर बजारमा जत्तिको आम्दानी छ जोखिम पनि उत्तिकै भएको सेयर बिश्लेषकहरुले बताउँदै आएका छन् । पछिल्लो समय सेयर बजारमा प्रवेश गर्न चाहनेहरुका लागि नेपाली सेयर बजारमा लगानीको जोखिम कत्तिको छ भन्ने चासोको बिषय बनेको छ । यसै सन्दर्भमा सेयर बिश्लेषक अशोक सिटौलासँग बैंकिङ खबर डटकमका रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

नेपालको सेयर बजार र अन्तर्राष्ट्रिय सेयर बजारबीच फरक के छ ?
अत्यन्त धेरै र ठूलो फरक छ । २४ बर्षअघि शुरु भए पनि नेपालको सेयर बजार शिशु अवस्थामा नै छ । छिमेकी मूलुक भारतकै कुरा गर्ने हो भने पनि भारतको नेशनल स्टक एक्चेञ्ज शुरु भएको जम्मा १५ बर्ष मात्रै भयो । हाम्रो नेपाल स्टक एक्सचेञ्ज शुरु भएको भने २४ बर्ष भइसक्यो । तुलनात्मक रुपमा भारतको र नेपालको स्टक एक्सचेञ्जबीच धेरै फरक छ । नेपाल स्टक एक्सचेञ्जलाई अहिले अनलाईन सेवा ल्याउन नै धेरै गाह्रो परिरहेको छ । नेप्सेमा धेरै झमेला छ । नेप्सेबाट सेयर लगानीकर्ताहरुले अन्तर्राष्ट्रिय नियम अनुसार जे चिज पाउनु पर्ने हो त्यसबाट बञ्चित भएका छन् ।

सेयर कारोबार घट्ने र बढ्ने भइरहन्छ, सेयर बजारको उतरचढावलाई यहाँले कसरी लिनुहुन्छ ?
जहाँ लगानी हुन्छ, त्यहाँ उतरचढाव भन्ने कुरा हुन्छ । जग्गाको कुरा गर्ने हो भने पनि कुन लेभलमा इन्ट्री गर्दैछु भन्ने थाहा हुँदैन । जस्तो १० लाख रुपैयाँ आना किनेको जग्गा भूकम्पपछि पाँच लाख रुपैयाँमा झर्यो होला । त्यस्तै, पछि गएर त्यहि जग्गा १५ लाखमा पनि किनबेच हुने अवस्था आयो । त्यस्तो कुुरा सेयर बजारमा पनि लागु हुन्छ । समय, अवस्था परिस्थीति र जुन स्क्रिप्ट तपाईले किन्नु हुन्छ, त्यो कम्पनीको म्यानेजमेन्टदेखि लिएर कम्पनीले आफ्नो व्यापार कसरी फैलाइरहेको छ भन्ने कुराहरुले सेयर बजारमा असर गर्ने हुँदा सेयर कारोबारमा उतारचढाव आइरहन्छ ।

लगानीका लागि सेयर बजार कत्तिको सुरक्षित छ ?
सुरक्षित र असुरक्षित भन्ने आ–आफ्नो धारणा हुन्छ । संसारमा ९९ प्रतिशत बढीले के भन्छन् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । सेयर कारोबारबाट विश्वमा थुप्रै अर्बपतिहरु जन्मिएका छन् । अध्ययन गरेर लगानी गरेकाले उनीहरुले लगानी गरेको कम्पनीले राम्रो भाउ भएकाले उनीहरु धनाढ्य भएका हुन् । संसारमा मान्छेहरुले सेयरबाट राम्रो आम्दानी मात्र गरेका छैनन् कतिपयले गुमाएका पनि छन् । कमाउने मान्छे र गुमाउने मान्छे कस्ता–कस्ता हुन्छन् भन्ने कुरा अध्ययनमा फरक पर्छ । कमाउने मान्छेहरुले कुन कम्पनी कस्तो छ, कुन कम्पनीले कसरी काम गरेको छ भन्ने कुराहरु अध्ययन गरेर लगानी गरेका हुन्छन् । गुमाउनेहरु भने हावा तालमा लागेका हुन्छन् । अध्ययन नगरी अरुले भनेको भरमा लगानी गर्नेहरुको लगानी जोखिममा हुन्छ नै । त्यसर्थ, सहि मान्छेका लागि सेयर बजार उत्पादन हुन्छ र गलत मान्छेहरुका लागि सेयर बजार जोखिम हुन्छ ।

लगानी गर्नका लागि राम्रो कम्पनी कसरी छनौट गर्ने ?
अध्ययन गरेर । राम्रो कम्पनी चिन्नका लागि अध्ययन गर्नुपर्छ । संसारमा राम्रो मान्छे बन्नको लागि पहिले सोबारे अध्ययन गरी कसरी राम्रो मान्छे बन्ने भनेर थाहा पाउनुपर्छ, अनि, सोही अनुसारका कामहरु गर्दै जानुपर्छ । परिक्षामा पास हुनका लागि पनि त कि पढ्नुपर्यो कि गलत बाटो अपनाउनुपर्यो । अध्ययन गर्ने सजिलै पास हुन्छन्, उता चिट चोर्नेलाई कुन बेला निरिक्षकले परिक्षा हलबाट निकाल्ने हो थाहा हुँदैन, त्यहाँ जोखिम रहिरहन्छ । त्यस्तै सेयर बजारमा सफल हुनका लागि पनि अध्ययनको आवश्कता छ । अहिले इन्टरनेटको जमाना छ । अध्ययन गर्नका लागि विकीपीडीया, गुगल, लगायतका सुविधाहरु छन् । अध्ययनका लागि आवश्यक कुराहरु आफैँ खोज्न जान्नुपर्छ । जसलाई जे बारे चेतना चाहिन्छ गुगलले सजिलै दिन्छ । यसर्थ, सेयर बजारमा राम्रो पैसा कमाउनका लागि अध्ययन नगरी हुँदैन ।

नेपालमा नयाँ स्टक एक्सचेञ्जको कत्तिको आवश्यकता छ ?
अहिलेको अवस्थामा हेर्ने हो भने थप नयाँ स्टक एक्सचेञ्जको एकदमै आवश्यकता छ । अहिले नेपाल स्टक एक्सचेञ्जको प्रतिष्पर्धी छैन । अर्को प्रतिष्पर्धी नभएपछि मैले त जे गरे पनि भयो नि भन्ने घमण्ड पैदा हुन्छ । म एउटा मात्रै व्यापारी छु भने मलाई ग्राहकले जे सुकै गरुन् मतलव हुँदैन । तर, मेरो प्रतिष्पर्धी अन्य व्यापारीहरु पनि छन् भने म मेरो वस्तुको गुणस्तर वृद्धि गरेर होस या मूल्य कम गरेर ग्राहक तान्नतिर लाग्छु । यसबाट ग्राहकले गुणस्तरीय सामान पाउँछन् । अहिले एउटा मात्रै भएकाले नेपाल स्टक एक्सचेञ्ज लथालिंग अवस्थामा छ । नयाँ एक्सचेञ्ज ल्याउँदा अब व्यापार अन्त जान्छ भनेर आफूलाई सुधार्नुको विकल्प हुँदैन त्यसपछि नेप्से नै ठूलो स्टक होल्डर हुन्छ । अर्को एक्सचेञ्ज आएपछि नेपाल सरकार नै यसलाई सुधार्न लाग्छ । यसका लागि गतिलो उदाहरण नेपाल टेलिकम र एनसेल हो । हिजो नेपाल टेलिकम एक्लै हुँदा कस्तो सेवा सुविधा थियो, अहिले एनसेल आएपछि कति परिवर्तन भएको छ, हामी देख्न सक्छौँ । एनसेल आएपछि मार्केट गुम्ने डरले नेपाल टेलिकमले पनि सुविधा थप गर्दै गएर अहिले धेरै ठूलो सुविधा दिन थालेको छ । यसर्थ प्रतिष्पर्धी चाहिन्छ । प्रतिष्पर्धी भए नेप्सेको पनि अवस्था सुधार हुन्छ ।

निजी क्षेत्रबाट नयाँ एक्सचेञ्ज कम्पनी खुल्यो भने सेयर बजारलाई कस्तो प्रभाव पार्छ ?
मैले अघि पनि भनेँ, निजी क्षेत्रबाट नयाँ स्टक एक्सचेञ्ज खुल्ने हो भने हालको नेप्से र नयाँ एक्सचेञ्ज कम्पनी एक अर्काका प्रष्तिपर्धी हुन्छन् । प्रतिष्पर्धी भएपछि गुणस्तरमा वृद्धि हुन्छ । सरकारी कर्मचारीको जुन काम गर्ने शैली छ त्यो गलत छ । सरकारीहरु जागिर पकाउनेतिर मात्रै ध्यान दिन्छन् । निजी क्षेत्रका कर्मचारीहरुलाई एउटा टार्गेट दिइएको हुन्छ, त्यो टार्गेट कर्मचारीहरु पुरा गर्न गम्भिर हुन्छन् ।

सेयर बजार र बैंकिङ क्षेत्रको सम्बन्ध कस्तो हुन्छ ?
सेयर बजार र बैंकिङ क्षेत्रको सम्बन्ध धेरै राम्रो हुन्छ । वर्तमान अवस्थामा हेर्ने हो भने स्टक मार्केटको करिब ७० प्रतिशत हिस्सा बैंकिङ क्षेत्रले अ‍ेगटेको छ । पहिले त ९० प्रतिशत भन्दा बढी हिस्सा बैंकिङ क्षेत्रले आगटेको थियो । तर पछिल्लो समय सेयरमा बीमा, होटल, हाइड्रोपावर लगायतका क्षेत्रको पनि सहभागिता बढिहरको छ । तर पनि म्याक्सिमम इन्डेक्स बैंकिङ क्षेत्रको छ । त्यसकारण बैंकिङ क्षेत्रमा कुनै एउटा महत्वपूर्ण डिसिजन लिइयो भने पुरै इनडेक्स ओभरल माथि जाने वा तल झर्ने हुन्छ । नेपालको सन्दर्भमा भन्नुपर्दा बैंकिङ क्षेत्र र स्टक मार्केट धेरै महत्वपूर्ण सम्बन्ध छ ।

अन्तमा, सेयर बजारमा नयाँ लगानीकर्ताहरुलाई कस्तो सुझाव दिन चाहानुहुन्छ ?
अन्य लगानी गर्ने क्षेत्रहरु भन्दा शेयरमा लगानी गर्नु धेरै सजिलो छ । जतिसुकै सानो पूँजीबाट पनि लगानी गर्न सकिन्छ । सानो पूँजी लिएर पनि सेयर क्षेत्रमा छिर्न सकिन्छ । शेयरमा जोखिम भए पनि निरन्तर हुँदैन । एक दुई पटक १०÷२० हजार जोखिममा परे पनि अन्य क्षेत्रमा लगानी गरे जस्तो त्यति जोखिम बहन गर्नु पर्दैन । शेयरबाट पैसा बनेको संसारले मानेको छ । शेयरमा लगानी गरेर जति पैसा कमाउने अवसर छ, त्यति अन्य क्षेत्रमा छैन । २ लाख रुपैयाँ आनामा किनेको जग्गा १० लाख रुपैयाँ आनामा बेचेका र हिजोका दिनमा खोलाको बगरमा जसले जग्गा किनेका थिए त्यस्ता ठाउँमा केहिदिन अघिको बाढीले सखाप बनाइदिएको उदाहरण पनि छ । त्यस्तै शेयरमा लगानी गर्दा सबै कम्पनी उपर्युक्र हुन्छ भन्ने हुँदैन । जसरी म कस्तो ठाउँमा जग्गा किन्दैछु भन्ने कुरामा मान्छेले ध्यान दिनु पर्छ त्यस्तै शेयरमा लगानी गनए चाहानेले पनि म कुन कम्पनीको सेयर किन्दैछु कुन कम्पनीमा लगानी गर्दा राम्रो हुन्छ भन्ने बिषयमा अध्ययन गरेर लगानी गर्नु पर्छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]