January 14th, 2018

११ प्रतिशतले बढ्यो निक्षेप सुरक्षण

ममता थापा /  निक्षेप तथा कर्जा सुरक्षण कोषले चालू आर्थिक वर्ष २०७४÷७५ को कात्तिक मसान्तसम्ममा बैङ्क तथा वित्तीय संस्थाका १ करोड ७० लाख २२ हजार ७ सय २७ जनाको निक्षेप सुरक्षण गरेको छ । गत आव २०७३/७४ को अन्त्यसम्ममा कोषले १ करोड ५३ लाख ८ हजार ८ सय १५ जना निक्षेपकर्ताको निक्षेप सुरक्षण गरेको थियो । गत आवको तुलनामा चालू आवको ४ महीनामा निक्षेप सुरक्षण गरिएका निक्षेपकर्ताको सङ्ख्या १७ लाख ३ हजार ९ सय १२ ले बढेको कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णुबाबु मिश्रले जानकारी दिए । यो वृद्धि प्रतिशतका हिसाबले ११ दशमलव १२ प्रतिशत रहेको छ ।

निक्षेप सुरक्षण गरिएकाहरूमा सबैभन्दा बढी वाणिज्य बैङ्कका रहेका छन् । कोषका अनुसार वाणिज्य बैङ्कका १ करोड ३८ लाख ५९ हजार निक्षेपकर्ताको निक्षेप सुरक्षण गरिएको छ । यसैगरी विकास बैङ्कका २७ लाख १० हजार, वित्त कम्पनीका ४ लाख १२ हजार र लघुवित्त विकास बैङ्कका ४० हजार निक्षेपकर्ताकोे निक्षेप सुरक्षण भएको छ ।

कर्जा सुरक्षण गरिएका निक्षेपकर्ताको सङ्ख्या बढे पनि यसमा संलग्न हुने बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या भने घटेको छ । पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाले पूँजी बढाउन मर्जर तथा एक्वीजिशनको प्रक्रियामा जोड दिएकाले पनि यस्ता संस्थाको सङ्ख्या घटेको होे । गत आवमा १ सय १५ ओटा बैङ्क तथा वित्तीय संस्था निक्षेप सुरक्षणमा आबद्ध थिए भने अहिले यो सङ्ख्या ९४ मा सीमित भएको छ ।

कोषको कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार तीमध्ये २८ ओटा वाणिज्य बैङ्क, ३८ ओटा विकास बैङ्क, २६ ओटा वित्त कम्पनी र २ ओटा लघुवित्त विकास बैङ्क छन् । गत आवको तुलनामा यो १८ प्रतिशतले घटेको देखिन्छ ।

निक्षेपकर्ताको तुलनामा निक्षेप सुरक्षण रकम भने गत आवको भन्दा अहिले ५ प्रतिशतले बढेको छ । कात्तिक मसान्तसम्ममा ४ खर्ब २ अर्ब ५९ हजार रुपैयाँबराबरको निक्षेप सुरक्षण (बीमा) भएको छ । उक्त निक्षेप सुरक्षण रकम गत आवको असार मसान्तसम्ममा ३ खर्ब ८१ अर्ब ८८ करोड रुपैयाँ थियो । यो गत आवको भन्दा २० अर्ब ७१ करोड ५५ लाख रुपैयाँ बढी हो । कोषले बैङ्क तथा वित्तीय संस्थाबाट निक्षेप सुरक्षणबापत कात्तिक मसान्तसम्ममा रू. ३९ करोड १८ लाख ९६ हजार निक्षेप सुरक्षण शुल्क प्राप्त गरेको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ मा हरेक खातावाला व्यक्तिको खातामा भएको २ लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गर्ने व्यवस्था छ । यदि कुनै बैङ्क तथा वित्तीय संस्था खारेज हुने अवस्था भएको खण्डमा उक्त निक्षेपकर्ताको तोकिएअनुसारको सुरक्षण दाबी पर्न आएमा कोषले नियमानुसार भुक्तानी गर्छ तर कोषमा यस्तो दाबी २ वर्षयता पर्न नआएको कोषका सीईओ मिश्रको भनाइ छ । ‘दुई वर्षअघि हिमालयन फाइनान्समार्फत करीब १९ हजार जना निक्षेपकर्ताको करीब रू. १३ करोड निक्षेप सुरक्षणको दाबी पर्न आएको थियो । त्यसपछि निक्षेप सुरक्षणमा दाबी परेको छैन,’ उनले भने ।

निक्षेप सुरक्षणबाहेक कोषले कर्जाको समेत सुरक्षण गर्दै आएको छ । सोअनुसार कात्तिक मसान्तसम्ममा पशुधन सुरक्षणअन्तर्गत ३ हजार १ सय २० ओटा पशुधन सुरक्षण भएको छ । ती पशु २ हजार ४ सय ७ जना कृषकले विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट रू. १७ करोड ४० लाख ४८ हजारबराबरको कर्जा लिएर खरीद गरेका थिए । यसैगरी कात्तिक मसान्तसम्ममा मझौला तथा साना उद्यम कर्जाअन्तर्गत रू. २० करोड ७७ लाख १४ हजार कर्जा सुरक्षण छ । यस्तै कृषिकर्जाको रू. ६६ करोड ५६ लाख ६२ हजार र लघुवित्ततर्फको रू. ८ अर्ब ५९ करोड ६ लाख ८७ हजार कर्जा सुरक्षण गरिएको छ । अभियान दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]