September 13th, 2017

सामाजिक सुरक्षा भत्ता सीधै स्थानीय तहमा

सरकारले चालू आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ताको रकम ७ सय ५३ ओटै स्थानीय तहबाट वितरण गर्ने भएको छ । यसअघि जिल्ला विकास समितिमार्फत स्थानीय तहमा जाने भएता पनि यस आवबाट सीधै स्थानीय तहमा सुरक्षा भत्ता पठाइने केन्द्रीय पञ्जीकरण विभागका महानिर्देशक अनिलकुमार ठाकुरले बताए । उनले स्थानीय तह नै स्थानीय सरकार भएकाले ती निकायमा सीधै सुरक्षा भत्ताको रकम पठाइने जानकारी दिए । विभागले स्थानीय तहबाट सुरक्षा भत्ता पाउनेको विवरण प्राप्त हुनासाथ रकम पठाउने तयारी गरेको छ । अहिले सो भत्ता पाउनेको विवरण स्थानीय तहमा सङ्कलन भइरहेको छ ।

यस आव सामाजिक सुरक्षा भत्ताका लागि करीब रू। ३६ अर्ब विनियोजन भइसकेको छ । गत आवमा २२ लाख ५५ हजार व्यक्तिलाई करीब रू। ३५ अर्ब ४६ करोड वितरण गरिएको महानिर्देशक ठाकुरले बताए । विभागले वर्षेनि तीन÷तीन महीनामा ज्येष्ठ नागरिक, विधवा, अपाङ्ग, दलित, लोपोन्मुख र अति गरीबीको सूचकाङ्कमा परेका जिल्लाका बालबालिकालाई सो भत्ता वितरण गर्दै आएको छ । उक्त भत्ता पाउनेको नाममा दोहोरोपना आउन नदिन र भत्ता वितरणमा पारदर्शिता अपनाउन विभागले भत्ता पाउनेको नामवली अनलाइनमा राख्ने गरेकामा अहिलेसम्म १७ लाख ५० हजार व्यक्तिको नाम अनलाइनमा राखिएको महानिर्देशक ठाकुरको भनाइ छ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]