July 17th, 2017

सरकारी बजेटमा नेता र हाकिमको मोजमस्ती

आर्थिक वर्ष २०७३/०७४ मा सञ्चालित कार्यक्रमको अनुगमन गर्ने बाहानामा धादिङ जिल्लाका सबै जसो सरकारी कार्यालयका प्रमुख चितवन पुगेका छन् । धादिङका तीनवटा सरकारी कार्यालय- महिला तथा बालबालिका, जिल्ला कृषि विकास र पशुसेवा कार्यालय धादिङले यस आर्थिक वर्षमा सञ्चालन गरेका विभिन्न योजना तथा कार्यक्रमको संयुक्त अनुगन गरेपश्चात कार्यालय प्रमुख चितवन पुगेका हुन् ।

दुईदिने अनुगमन कार्यक्रमको क्रममा बुधबार सदरमुकाम धादिङबेसीबाट करिब १२ बजे निस्किएको अनुगमन टोली काठमाडौं सीमानाको धुनीबेसी नगपालिकामा सञ्चालित कार्यक्रमको अनुगमन गरेर बास बस्न चितवन पुगेको थियो । तीनवटा फरक-फरक कार्यालयको अनुगमन भए पनि तीनवटै कार्यालयको एउटै बजेट बनाएर संयुक्त अनुगमनपश्चात रात्रिभोजका लागि सहभागी चितवन पुगेका हुन् । आर्थिक वर्ष सकिनै लागेको र वर्षको अन्त्यमा पूर्वनिर्धारित कार्यक्रम गर्नै पर्ने भएकाले हतार-हतारमा तीनवटा कार्यालयको संयुक्त अनुगमन गरिएको ती कार्यालयले जनाएका छन् ।

फरक-फरक कार्यालयको फरक-फरक कार्यक्रम अनुगमन गर्नु पर्ने भए पनि महिला तथा बालबालिका कार्यालयको लैंगिक बालअधिकार मूलप्रवाहीकरण जिल्ला समन्वय समितिको संयुक्त अनुगमन, जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशुसेवा कार्यालय धादिङले वर्षभरि सञ्चालन गरेका योजनाको अनुगमन कार्यक्रम एकै समयमा गरिएको हो ।

अनुगमनमा जाने व्यक्ति एउटै हुने र फरक-फरक समयमा अनुगमन गर्न समय अभाव भएकाले तीनवटै कार्यालयको संयुक्त अनुगमन राखिएको सम्बन्धित कार्यालयले जनाएका छन् । हतार हतारमा गरिएको अनुगमनका कारण सबै सञ्चालित योजनाको अनुगमन गर्न नभ्याइएको अनुगमन टोलीमै सहभागी जिल्ला पशुसेवा कार्यालयका कार्यालय प्रमुख देवेन्द्र भगतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नलाङको गाई फार्म र केवलपुरको बाख्रा फार्म हेरियो, समय अभावले कार्यालयले सञ्चालन गरेका सबै योजना हेर्न भ्याइएन ।'

सरकारी अधिकृतले नै समय अभावका कारण सबै योजनाको अनुगमन गर्न नभ्याएको बताइरहँदा अनुगमन कार्यक्रम दुई दिनको भए पनि अनुगमन भने एक दिन मात्रै गरिएको थियो । अनुगमनका लागि काठमाडौं नजिक पुगेर पनि बास बस्न र रात्रिभोज गर्न भन्दै अनुगमनटोली चितवनको कुरिनटार पुगेर भोलिपल्ट (बिहीबार) धादिङ फर्किएको थियो ।

प्राजयसो जिल्लाका मुख्य कार्यक्रममा कहिल्यै देखा नपर्ने कार्यालय प्रमुख पनि साँझको रात्रिभोजमा भने देखिएका थिए । रात्रिभोजमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत धादिङका सबैजसो सरकारी कार्यालयका प्रमुखहरू सहभागी थिए ।

अनुगमनमा सहभागीले पाउने भत्ताबाटै रात्रिभोजको आयोजना गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालय धादिङका प्रमुख यज्ञ ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनुगमनमा जानेलाई भत्ताको व्यवस्था गरिएको रहेछ, त्यही भत्ताको रकमबाट रात्रिभोज गरिएको हो । भोजमा छट्टै सरकारी कोषको रकम खर्च भएको छैन ।' आर्थिक वर्षको अन्त्यमा सबै कार्यक्रम सकिएपश्चात सबै कार्यालय प्रमुखहरू एकै ठाउँमा बसेर भेटघाट गरौं भन्ने उद्देश्यले रात्रिभोज राखिएको ढकालले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम अनुगमनका लागि जिल्ला कृषि विकास कार्यालयको ५० हजार, पशुसेवा कार्यालयको ५० हजार र महिला तथा बालबालिका कार्यालयको ६० हजार बजेट रहेको थियो । कार्यक्रममा कति खर्च भयो भनेर यकिन खर्च विवरण दिन सम्बन्धित सरकारी कार्यालयले आनाकानी गरे पनि उनीहरूले रात्रिभोज गरेको होटेलको रेट प्रतिव्यक्ति करबाहेक चार हजारभन्दा माथि छ । रात्रिभोजमा भएको खर्चमध्ये भत्ताबाट नपुग रकम भने सम्बन्धित कार्यालयका प्रमुखहरूले व्यहोरेको बताइएको छ ।

रात्रिभोजमा सहभागी हुन सबै कार्यालय प्रमुखले आफ्नै कार्यालयका गाडी लगेको भए पनि चालकलाई भने बाहिरै होटेलमा खाना खुवाइएको थियो ।

शान्ति पदयात्राको बजेट पौडीपोखरीमा झ्वाम

स्थानीय शान्ति समिति धादिङले पनि कार्यालय प्रमुखकै तरिकाले घुमफिर गरेर बजेट सकेको छ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकामा शान्ति पदयात्राका लागि भनेर छुट्याइएको एक लाख बजेट स्थानीय शान्ति समिति धादिङले चितवनको एक होटेलमा पौडी खेलेर सकेको हो ।

हिंसाग्रस्त क्षेत्रमा मेलमिलापको वातावरण सिर्जना गराउन शान्ति पदयात्राको लागि शान्ती तथा पुनर्निर्माण मन्त्रालयमार्फत स्वीकृत बजेटबाट जिल्लाका शीर्ष दलका नेता तथा शान्ति समितिका पदाधिकारीहरू चितवनको कुरिनटारस्थित होटेल सिद्धार्थमा कार्यक्रम गर्न पुगेका थिए ।

रात्रिभोजमा भएको खर्चमध्ये भत्ताबाट नपुग रकम भने सम्बन्धित कार्यालयका प्रमुखहरूले व्यहोरेको बताइएको छ ।

चितवनको कुरिनटारमा अवस्थित सिद्धार्थ होटेलमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस पूर्व सभापति रामनाथ अधिकारी, एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठी, पूर्व जिविस सभापति खेम लोहनी, माओवादी केन्द्रका अध्यक्ष रामबहादुर भण्डारीलगायत जिल्लाका प्रमुख नेताहरू र सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीसहित शान्ति समितिका पूर्वसंयोजक र पदाधिकारी सहभागी थिए । बुधबार कार्यक्रम आयोजना गरिएको सिद्धार्थ होटेलमा प्रतिव्यक्ति खाना, खाजा र बासको मात्रै भ्याटसहित ४५ सय छ । शान्ति समितिको कार्यक्रममा ३५ जना सहभागी थिए । स्रोतका अनुसार खाना र खाजाको मात्रै ८० हजारको बिल तिरिएको छ ।

शान्ति पदयात्रा उपसमितिका संयोजक रामसिंह तामाङले भन्नुभयो, ‘हिंसाग्रस्त क्षेत्रमा नै जाने भनेर कार्यक्रम तय गरिएको हो तर समितिका प्रमुख सदस्यले नै समय अभाव भयो भनेर मानेनन् । रकम सक्नकै लागि टोली चितवन पुगेको रहेछ ।' बुधबार आयोजित चितवनको सिद्धार्थ होटेलको कार्यक्रममा उपसंयोजक तामाङ भने सहभागी हुनुभएको थिएन ।

उत्तरी धादिङको साबिकको ५ गाविसमा शान्ति पदयात्राका लागि स्वीकृत एक लाख बजेट स्थानीय शान्ति समितिले चितवनको सिद्धार्थ होटेलमा लगेर कोठे कार्यक्रमपश्चात मनोरन्जनमा सकेको हो । ‘द्वन्द व्यवस्थापनको बजेट होटेलमा व्यवस्थापन पो खर्च भयो' एक सहभागीले भन्नुभयो, ‘शान्ति समितिको बुलेटिन विमोचन गरेर विगत र वर्तमानको समिक्षा गरियो, मनोरन्जन गरेर आइयो ।' शान्ति समितिका पदाधिकारी र नेताले भने हिउँदमा चुनाव लागेको र वर्षा लागेपछि उत्तरी धादिङ जान नसकिने भएकाले होटेलमै अन्तक्र्रिया गरिएको प्रतिक्रिया दिए ।

सशस्त्र द्वन्दका क्रममा हिंसाग्रस्त क्षेत्रलाई केन्द्रित गरेर बजेट निर्माण गरिएको भए पनि उक्त शीर्षकका बजेट भने महंगा होटेल र रेष्टुराँमा खर्च हुने गरेको छ । अघिल्लो वर्ष पनि उत्तरी धादिङकै नाममा बजेट स्वीकृत गरेर चितवनकै त्रिशूली रिभर साइड स्प्रिङ रिसोर्टमा भोज गरेर बजेट सकिएको थियो । 
अन्नपूर्ण पोष्टमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]