January 12th, 2017

लक्ष्मी बैंकका सेयरधनीले ३८ प्रतिशत बोनस सेयर पाउने

लक्ष्मी बैंक लिमिटेडका सेयरधनीले ३८ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको बुधबार (पुस २७ गते) बसेको सञ्चालक समितिको १८३ औँ बैठकले गत आर्थिक वर्षको कमाईबाट सो अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो । प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । 

लक्ष्मी हाल कायम चुक्तापुँजी तीन अर्ब तीन करोड ९२ लाख रुपैयाँको ३८ प्रतिशतले हुन आउने एक अर्ब १५ करोड ४८ लाख ९६ हजार रुपैयाँ बराबरको बोनस सेयर जारी गर्न लागेको हो । बैंकले प्रोफेशनल दियालो विकास बैंकलाई खरिद गरिसकेपछि र शतप्रतिशत हकप्रद सेयर जारी गरिसकेपछि बोनस सेयर जारी गर्ने बताएको छ । प्रस्तावित बोनस सेयर एक्विजिसन र हकप्रदपछि कायम चुक्तापुँजीको १८.२९ प्रतिशत हुनेछ । 

१० जिल्ला कार्यक्षेत्र भएको प्रोफेशनल दियालो विकास बैंकलाई गाभेर लक्ष्मी बैंकले आगामी माघ २ गतेदेखि  एकीकृत कारोबार सुरु गर्दैछ । नेपाल राष्ट्र बैंकबाट गत पुस ११ गते प्राफेशनल दियालोलाई गाभ्न अन्तिम स्वीकृती पाएको बैंकले एकीकृत कारोबार सुरु गर्न आवश्यक सबै प्रक्रिया पुरा गरी माघ २ गतेदेखि एकीकृृत कारोबार सुरु गर्ने जानकारी दिएको हो । एक्विजिशन पछि बन्ने बैंकको नाम लक्ष्मी बैंक लिमिटेड नै रहने भएको छ । बैंकको केन्द्रीय कार्यालय भने साविकको प्रोफेशन दियालो विकास बैंकको केन्द्रीय कार्यालय हात्तिसार काठमाडौंमा हुने भएको छ । एक्विजिशनमा लक्ष्मी बैंक र प्रोफेशनल दियालो विकास बैंकको स्वाप रेसियो १००ः५० तय गरिएको छ । जसअनुसार, प्रोफेशनल दियालो विकास बैंकको प्रति सेयर मूल्य लक्ष्मी बैंक लिमिटेडको प्रति सेयर मूल्यको ५० प्रतिशत रहने भएको छ । प्रोफेशनल दियालो विकास बैंकको चुक्तापुँजी २४ करोड रुपैयाँ छ, जसलाई खरिद गरेपछि लक्ष्मीको चुक्तापुँजी सवा तीन अर्ब नाघ्नेछ ।

प्रोफेसनल दियालोलाई प्राप्ति गरेपछि कायम हुन आउने पुँजीबाट शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव बैंकको पन्ध्रौं वार्षिक साधारण सभाबाट पारित भइसकेको छ । उक्त एक्विजिसन र हकप्रद वितरणपछि बैंकको पुँजी साढे छ अर्ब पुग्नेछ । प्रस्तावित बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब ६५ करोड रुपैयाँ नाघ्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]