January 10th, 2018

रोकिएन हुण्डी कारोबार, सरकार बन्यो निरीह

बैंकिङ खबर । घर धरान भएका तेलअभिवका सुमन तामाङ (नाम परिवर्तन) लाई हरेक महिनाको दश तारिख भ्यान नभ्याइ नै हुन्छ । उनी इजरायलको व्यापारिक केन्द्र तेलअभिव, आफुल्ला, इन्गेभ, वेइतसनदेखि जेरुसलोमसम्मका नेपालीहरुको पैसा संकलन गर्छन् र हुन्डी गरिदिन्छन् । इजरायलमा हरेक हप्ताको २४ घण्टा सब्बात (यहाँको शनिबारजस्तै) लाग्छ । त्यो समय यहुदीहरुले काम गर्दैनन् । त्यतिबेला यहुदीहरुको सवारीसमेत सडकमा देखिँदैनन् । त्यो समय उनीहरुले आफ्ना कामदारलाई विदा दिएका हुन्छन् । सुमन त्यहि समयमा अरबीहरुले चलाउने सेरुत (ट्याक्सी) चढेर विभिन्न ठाउँमा पुगेर रकम संकलन गर्छन् र तेलअभिवमा रहेको मिज्रहि बैंकमा लगेर जम्मा गर्छन् । कहिलेकाहि रोजगार दाताले काममा ध्यान दिन दिएको निर्देशन उनलाई चित्त बुझ्दैन र काम छाड्ने चेतावनी समेत दिन्छन् । अर्काकै देशमा भएपनि काम नपाउँदा उनलाई पिरलो छैन । किनभने उनीसँग हुन्डी गर्नेहरुको च्यानल ठूलो छ ।
 
किन गर्छन् हुन्डी ?
 झापा घर भई हाल इजरायलको यारदेना बेतयोसेफमा केयर गिभरका रुपमा कार्यरत नेपाली आशिष बुढामगर इजरायल पुगेको ५ वर्ष भयो । पाँच वर्षअघि भारतीय बाटो हुँदै इजरायल छिरेका उनी अहिलेसम्म बैंक गएका छैनन् । यसको मतलव उनले पैसा नकमाएको वा पैसा लिन नगएको भने हैन । उनी इजरायल गएदेखि नै हुन्डीमार्फत रकम नेपाल पठाउँदै आएका छन् । ‘यहाँदेखि बैंक पुग्न ३० शेकेल (करिब ९ सय रुपैयाँ) लाग्छ । त्यसपछि खाजा खान १५ शेकेल (करिब साढे चार सय रुपैयाँ) लाग्छ ।’ उनी भन्छन् ‘त्यति खर्च गरेर बैंक जानुभन्दा हुन्डी नै गर्न सजिलो छ ।’
 
इजरायलको इन्गेभमा रहेका सन्तोष कार्की भन्छन्, ‘बैंक सम्म पुगिराख्न समय पनि हुँदैन, बैंकले एक सेकेल (इजरायली मुद्रा) बराबर २७ रुपैयाँ दिएको बेला हुन्डीले २८ दिन्छ ।’ उनका अनुसार इन्गेभ क्षेत्रका प्राय सबै नेपालीहरु कमाएको रकम हुन्डीमार्फत नै घर पठाउँछन् ।चितवन घर भई हाल इजरायलको यारदेनामा कृषि क्षेत्रमा कार्यरत सुगम मिश्र तलब आएको साँझ आफ्नो घरमा पैसा पुग्ने दाबी गर्छन् । उनी भन्छन्– ‘तलब आउनुभन्दा तीन दिन अघि नै हुन्डी गर्ने दाईलाई फलानो दिन मेरो तलब आउँछ, पैसा घरमा दिन लाइदिनु है भनिदिन्छु, त्यसैले यहाँ मेरो तलब आएकै साँझ घरमा पैसा पुग्छ ।’ त्यसो त उनकै साथी सरोज हुमागाईले ३ महिनाअघि हुण्डिबाट पैसा पठाउने हुँदा ३ लाख नेपाली रुपैयाँ पनि डुबाएका थिए । हुण्डि गरिदिने व्यक्ति पैसा लिएर फरार भएपछि  उनको पैसा डुबेको हो । सुगम भन्छन्– ‘पहिले नै पैसा दिनु त रिस्क मोल्नु हो, त्यसैले पहिला पैसा घरमा पुगेपछि मात्रै दिन्छु ।’
 
हुण्डी गर्नु बाध्यता ?
इजरायलमा हुन्डी कारोबार गर्ने बेलाबेला पक्राउ पर्छन् तर पनि लुकिछिपी हुन्डी व्यवसाय संचालन गर्दै आएकाको संख्या पनि पातलो छैन । सुमन त एउटा उदाहरणीय पात्र मात्रै हुन् । इजरायलको उत्तरी भेगमा रहेका नेपाली, थाई, इथियोपियन, फिलिपिन्सलगायतका देशका कामदारहरुको पैसा हुन्डी गरिदिने एजेन्टहरु थुप्रै छन् । सो क्षेत्रमा बैंकमा पुग्न केही कष्ठ पर्छ । बैंकसम्म पुग्न एकदिन काम छाडेर नजिकको शहर पुग्नुपर्ने, बैंकसम्म जान लाग्ने भाडा र समय हिसाब गर्दा कामदारहरु त्यता उदाशीन बनेको बताउँछन् । 
 
हुन्डीमा हालिने पैसा कहाँ जान्छ ?
इजरायलबाट झण्डै ६० प्रतिशतभन्दा बढी नेपालीहरुले हुन्डी गर्ने गरेको रेमिटर्सहरु बताउँछन् । इजरायलबाट हुन्डी गरेको रकमको भुक्तानी नेपालमा नेपाली रुपैयाँमा हुन्छ, इजरायलमा शेकेल नै बस्छ । त्यसरी बसेको रकम अवैध व्यपारका लागि प्रयोग हुने गरेको अनुमान गरिएको छ । श्रोतका अनुसार त्यो पैसा हङकङबाट नेपालतर्फ हुने सुन तस्करीमा बढी प्रयोग हुने गरेको छ । त्यस्तै नेपाल चीनबीच हुने अनौपचारिक व्यापारमा सो रकम प्रयोग हुने बताइन्छ ।

हुन्डी : कालो धन सेतो बनाउने बाटो
हुन्डीको कारोबार असाध्यै मौलाएपछि केही महिनाअघि इजरायलका लागि नेपाली दूतावासले हुन्डी नगर्न नेपाली कामदाहरुलाई सचेत गराएको थियो । त्यतिबेला हुन्डी गर्नेहरुको संख्या केही घटेपनि हाल पहिलाकै जस्तै हुन्डी मौलाएको छ । नेपालबाट रोजगारीका लागि इजरायल पुगेका नेपालीहरुमध्ये अधिकांसले कमाएको रकम हुन्डीमार्फत नै पठाउने गरेका छन् । हुन्डी गर्दा ट्याक्स नतिर्नुपर्ने भएकाले अलि बढी रकमदर पाइनु र रकम बोकेर बैंक वा रेमिटसम्म जानुनपर्ने भएकाले धेरैले हुन्डीको ‘जोखिम’ मोल्छन् । विदेशमै रहेर हुन्डीवाला मार्फत् कारोबार गर्दा सजिलो हुने र बैंक मार्फत् पठाउँदा लाग्ने खर्च जोगिनुका साथै त्यसको सटही दर पनि पनि बढी दिने हुँदा पनि हुन्डीप्रति उनीहरुको आकर्षण बढेको देखिएको छ ।
 
हुन्डी अदृश्य आर्थिक कारोबारको माध्यम हो । सामान्य कामदारदेखि अन्तर्रा्ष्ट्रिय अपराधमा संलग्न व्यक्तिहरू त्यही प्रक्रिया मार्फत् पैसाको कारोवार गरी कालो धनलाई सेतो बनाउने प्रयास गरिरहेका छन् । इजरायलमा कार्यरत श्रमजिवी नेपालीहरुले कमाएको परिश्रमको कमाईलाई क्षणिक लाभको लोभमा परी अवैधानिक वाटोमार्फत पठाउनु जोखिमपूर्ण मात्र होइन, राष्ट्रलाई ठगी गर्नु र दुख गरी कमाएको सेतो धनलाई कालो धनका रुपमा परिणत गर्नु पनि हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]