Thursday , June 29 2017

राजनीतिक अस्थिरता नै  बैंकिङ क्षेत्रको बाधक (बैंकर्स झलकप्रसाद खनालसँगको अन्तरवार्ता)

January 4, 2017

झलक प्रसाद खनाल भिबोर सोसाइटी डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । दुई ठूला विकास बैंक भिबोर विकास बैंक र सोसाइटी डेभलपमेण्ड बैंकले मर्जर गरि भिबोर सोसाइटी डेभलपमेण्ट बैंकको रुपमा एकीकृत कारोबार सुरु गरेको झण्डै पाँच महिना पुगिसकेको छ । मर्जरपछि देखिने कर्मचारी व्यवस्थापनलगायतका समस्याले पनि भिबोर सोसाइटी डेभलपमेण्ट बैंक खासै प्रभावित भएको देखिएन । यस बैंकको वित्तीय अवस्था पनि राम्रै देखिन्छ । बैंकको अहिले झण्डै पौने २ अर्ब चुक्ता पुँजी छ । राष्ट्र बैंकले तोकेको अढाई अर्ब चुक्ता पुँजी पुर्याउन बैंकले कसरत गरिरहेको छ । यसै सन्दर्भमा मर्जरपछि बैंकको कार्यदिशा र वित्तीय अवस्थाबारे भिबोर सोसाइटी डेभलपमेण्ट बैंकका सीईओ खनालसँग बैंकिङ खबर डटकमका संवाददाताले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ ।

भनिन्छ मर्जरपछि बैंक तथा वित्तीय संस्थाहरुमा विभिन्न समस्या तथा चुनौतिहरु देखा पर्छन ? तपाईहरुले त्यस्ता कुनै चुनौति सामना गर्नुपर्यो कि परेन ?  
मर्जर भनेको दुई संस्थाबीचको एकता हो । यसमा केहि समस्या देखा पर्नुु स्वभाविकै हो । यद्यपी भिबोर सोसाईटी डेभलपमेण्ट बैंकलाई कुनै समस्या परेन ।  हाम्रो शाखाहरु धेरै भएकाले पनि कर्मचारी व्यवस्थापनमा कुनै समस्या नपरेको हो । सबै कर्मचारीहरुलाई उचित ठाउँमा व्यवस्थापन गरियो । दुई संस्थाहरु एउटै संस्थामा मर्ज हुँदा कर्मचारीहरुमा तालिमको खांचो हँदो रहेछ । हामीले कर्मचारीलाई पायक पर्ने ठाउँमा सरुवा गर्ने र तालिम दिने काम गरेका छौँ । त्यस्तै संञ्चालक समितिमा पनि दुबै संस्थाबाट बराबर राखेर मिलाएका छौँ ।

मर्जरपछि बैंकको वित्तीय अवस्था के छ ?  
गाभिने र गाभ्ने संस्थाको चुक्ता पंँुजी ९० करोडको हाराहारीमा थियो । मर्जरपछि १ अर्ब ८१ करोड पुगेको छ । हाम्रो वित्तीय अबस्था सुधारउन्मुख छ । सुरुमा दुवै संस्थाको वित्तीय अवस्था फटाफट अघि बढ्न सकेको थिएन । यी संस्थाहरुमा  वित्तीय अवस्थामा सुधार हँुदै गएपछि हामी मर्जमा गएका हौँ । यो वर्ष भने हामीले फड्को मार्न सकिन्छ भन्ने आशामा छौँ । सेयरहोल्डरलाई यो बर्ष भने केहि दिन सक्छौँ भन्ने लागेको छ ।


भिबोर सोसाईटी डेभलपमेण्ट बैंकले कुन–कुन क्षेत्रमा कुल कति लगानी गरेको छ ?
हाम्रो बैंकले राष्ट्र बैंकले निर्दिष्ट गरेका कृषि, उर्जा, पर्यटन, उत्पादन, सवारी, थोक तथा विक्रेताको क्षेत्रमा लगानी गरेका छौँ । हामीले १२ अर्ब ३५ करोड लगानी गरेका छौँ ।


राजनीतिक अस्थिरताले बैंकिङ क्षेत्रलाई कस्तो असर पुर्याएको छ ?
राजनीतिक अस्थिरता कहीलेसम्म भन्ने नै भएन । नेपालमा विसौं वर्षभन्दा बढी भैसकेको छ तर राजनीतिक अस्थिरता अझै कायम छ । अरु देशमा सरकार फेरिँदा राष्ट्रिय योजना तथा वित्तीय रणनीतिहरु परिवर्तन हुँदैनन् । तर हाम्रो देशमा सरकार छिटो–छिटो नै फेरिन्छ । त्यसपछि आउने दलले अघिल्लो सरकारको रणनीति तथा योजनाहरु आफ्नो अनुकुलमा परिणत गरिदिन्छ । दिर्घकालिन सोचका साथ योजनाहरु आउँदैनन् । अन्ततः सबै कुरा राजनीतिक स्थिरता र दिर्घकालिन सोच, कार्ययोजनामा ठोकिन पुग्छ । सरकारको यस्तो भुमिकाले बैंक तथा वित्तीय क्षेत्र प्रभावित भएको छ ।


बैंकिङ क्षेत्रका वर्र्तमान चुनौती के के होलान् ?
बैंकहरु एक किसिमको गतिमा अगि बढेका छन् तर पनि बैंकमा चुनौती छैन भन्न सकिदैन । तथापी वर्तमान अवस्थामा बैंकहरु जती धरै फस्टाउँदै गएपनि चुनौतिहरु पनि उत्तिकै छन् । राजनीतिक अस्थिरता, नागरिकमा वित्तीय साक्षरताको कमी, कर्मचारीमा तालिमको कमी, प्रविधिको अभावजस्ता धेरै चुनौती छन् । त्यस्तै बैंकको नाफा बढाएर लगानीकर्तालाई सन्तुष्टि पार्नु, सेवा ग्राहिलाई सेवा बढाउने र लागत कम गर्ने, जनताको स्वामीत्व, सेयरहोल्डरको स्वामित्व र राष्ट्र बैंकले विश्वास गर्ने वातावरण निर्माण गर्नुलगायतका चुनौति पनि छन् ।
 
विकासका कामहरु प्राय शहर केन्द्रित देखिन्छन् । त्यस्तै बैंकिङ लगानी पनि शहरकेन्द्रित नै बढी देखिन्छ । यसलाई गाउँ केन्द्रित गर्न के गनुपर्ला ?
नेपालका बैंकहरु केन्द्रिकृत छन् । तपाईले भनेजस्तै प्राय बैंक अहिले बजारकेन्द्रित नै छन् । तर  हामी यस्तो बैंक हो जो बिकेन्द्रिकरणबाट केन्द्रिकृत भएका हौँ । बैंकलाई ग्रामिण क्षेत्रमा विस्तार गर्नका लागि वित्तीय साक्षरता फैलाउन जरुरी छ । निजी क्षेत्र मात्रै होईन, सरकार नेपाल राष्ट्र बैंक तथा सरोकारवालाले पनि यसको दायित्वबोध गर्नुपर्छ । सरकारले बैंकिङ क्षेत्रसँग हातेमालो गरेर जाने हो भने सायद यो छिटै समाधान हुन्थ्यो । अहिले हामी दुरदराजमा पुगेका छौँ । अझै धेरै सेवा विस्तार गर्दैछौँ । हामी जनाताको पैसा चलाउने संस्था भएका कारण यो पैसाको सुरक्षा गर्न सक्ने अवस्था हेरेर हरेक ठाउँमा पुगेका छौँ । तर पनि पर्याप्त भएको छैन । बैंकिङ क्षेत्र सञ्चार सेवा र यातायात विस्तार भएपछि पुग्ने भएको हुँदा पूर्वाधारको विकास र काम गर्ने वातावरण सबैभन्दा महत्वपूर्ण छ ।


यस बैंकको अबको योजना बताईदिनुहोस् न ।
हामी स्वभाविक रुपमा चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउनेमा केन्द्रित छौँ । यसका लागि पनि अब हामीलाई त्यति धेरै समस्या पर्ने छैन । किनकी हाम्रो अहिले नै चुक्ता पुँजी १ अर्ब ८१ करोड पुगिसकेको छ । हाम्रो योजना वित्तीय साक्षरता कुन रुपमा अघि बढाउने, ग्रामिण क्षेत्रमा वित्तीय पहुँच कसरी विस्तार गर्ने भन्नेमै केन्द्रित छ । हामी नेपाल सरकार र नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेका कुरालाई दायित्वबोध गरेर अगाडि बढ्ने छौँ । हामी उद्योगको विकास, निर्यातको प्रबद्र्धन, पर्यटन, जलस्रोत, ठूला तथा साना खालका विद्युतको विकासको लागि कसरी अघि बढ्ने भन्ने योजनामा छौँ । लघुवित्तलाई पनि हामीले अघि बढाएका छौँ । कृषिमा आधुनिकिरणको खोजी र लगानीका लागि तयारी छौँ । समग्र रुपमा बैंकलाई सबल र सुदृढ गराउनुपर्छ भन्नेमा हाम्रो सक्रियता छ ।
 
मुलुकको संमृद्धिको लागि यहाँको सुझाव के छ ?
मुलुकको संमृद्धिको लागि सबैको सुझाव सायद एउटै होला । हामीले सबैभन्दा पहिला राजनीतिक स्थायीत्वमा जोड दिनुपर्छ । त्यसपछि सरकारका नीति तथा कार्यक्रमहरु प्रष्ट विकासमा केन्द्रित हुनुपर्छ । प्रचुरमात्रामा रहेको प्राकृतिक स्रोत साधनको उपयोग गर्नुपर्छ । त्यसैगरी सबै क्षेत्रका कर्मचारीहरुको उचित व्यवस्थापन तथा उनिहरुको सीपमा बृद्धि गर्नुपर्छ । हामीले जल सम्पदाको र जडीबुटीको पनि उचित उपयोग गर्नपर्छ । त्यस्तै होटल र पर्यटनको पनि व्यवसायलाई पनि प्राथमिकतमा राख्नुपर्छ । सबैभन्दा महत्वपूर्ण त वैज्ञानीक अनुसन्धानको आधारमा जमिनको प्रयोग गर्नुपर्छ ।

Facebook Comments

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *