December 14th, 2016

भारतीय कम्पनीले अब नेपालमै मोबाइल बनाउने

lemonभारतीय मोबाइल उत्पादक कम्पनी फास्टट्रयाक कम्युनिकेशन प्रालिले नेपाली व्यवसायीसँग सहकार्य गरेर नेपालमै मोबाइल सेट उत्पादन गर्ने भएको छ । उक्त कम्पनीले नेपालका व्यवसायीको कम्पनी प्रभु मोबाइल प्रालिसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा प्रभुका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन शर्मा र फास्टट्रयाकका तर्फबाट कम्पनीका निर्देशक योगेश चौगले हस्ताक्षर गरेका हुन् । चौगले आउँदो एक वर्ष्भित्रमा नेपालमा मोबाइल सेट उत्पादन कम्पनी स्थापना गरिसक्ने बताए ।

काठमाडौं वा चितवनमध्ये एक ठाउँमा उद्योग स्थापनाका लागि अध्ययन भइरहेको उनले बताए । सन् २००८ बाट भारतको उत्तरप्रदेशस्थित ग्रेटरनोयडाबाट कम्पनीले लेमन मोबाइल सेट उत्पादन गर्दै आएको छ । कम्पनीले अहिले २८ मोडलका मोबाइल उत्पादन गर्दै आएकामा १६ ओटा मोडल नेपाली बजारमा बिक्री वितरण भइरहेको चौगले बताए । नेपालीले नेपाली उत्पादन मन पराएको आफूले पाएको भन्दै उनले नेपालीकै रोजाइ अनुसार उद्योग स्थापना गर्न लागिएको बताए । लेमन मोबाइल नेपाली बजारमा अहिले मासिक ३० हजार ओटा बिक्री वितरण भइरहेको भन्दै चौगले यहाँको कानून अनुसार नेपाली लगानीकर्तालाई कम्पनीमा समावेश गर्ने बताए ।

प्रभु मोबाइल प्रालिका निर्देशक केशव लामिछानेले नेपालमा पहिलो पटक फास्टट्रयाकसँग मिलेर मोबाइल सेट उत्पादन गर्न लागेको बताए । ‘लागत कति लाग्छ यकिन नभए पनि आवश्यक मात्रामा लगानी गर्न यो समूह तयार छ’, उनले भने । 

कम्पनीले पाँच ओटा नयाँ मोबाइल सेट नेपाली बजारमा ल्याएको छ । लेमन कम्पनीको मोबाइलको मूल्य बजारमा आठ सय रुपैयाँदेखि तीनहजार तीन सय रुपैयाँसम्म पर्छ । नेपालमै यसको उत्पादन हुनसके मूल्य अझै घटाउन सकिने निर्देशक लामिछानेको भनाइ छ । फास्टट्रयाकले भारतमा वार्षिक दुई अर्ब रुपैयाँ बराबरको मोबाइल बिक्री गर्दै आएको बताइएको छ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]