Wednesday , January 17 2018

बैंकिङ जोखिम र त्यसको व्यवस्थापन

November 6, 2017

रमेश कुमार पोखरेल । सम्भावित हानी नोक्सानीलाई सामान्य अर्थमा जोखिम भनिन्छ । सम्भावना र अनिश्चय जोखिमका जन्मदाता हुन् । शतप्रतिशत निश्चित र शतप्रतिशत अनिश्चित अवस्थामा जोखिमको अस्तित्व रहँदैन । यसको अस्तित्व शुन्य भन्दा माथि र एक भन्दा तल मात्र रहन्छ । अनिश्चय र जोखिम सबै स्थितिमा खराब हुँदैनन् । जोखिम र प्रतिफलबीच सोझो सम्बन्ध हुन्छ । जसरी तोरीको दानाभित्र तेल र दुधभित्र घिउ लुकेको हुन्छ, त्यसैगरी सम्भावना र अनिश्चय भित्र अवसर अनि जोखिमभित्र प्रतिफल लुकेर बसेको हुन्छ । यसरी लुकेर बसेको अवसर र प्रतिफललाई उधिनेर वास्तविकतामा रुपान्तरण गर्ने काम जोखिम व्यवस्थापनले गर्दछ ।

जथाभावी जोखिम लिनु हानिकारक
मान्छेको गर्भदेखि चिहानसम्मका हरेक क्रियाकलापमा जोखिम अन्तरनिहित छ, त्यसैले उसका हरेक व्यवहार जोखिमबाट निर्देशित हुन्छन् । भनिन्छ, जीवनमा जोखिम नलिनुनै सबैभन्दा ठूलो जोखिम हो । यसो भन्दैमा जथाभावि जोखिम लिनु हानिकारक हुन सक्छ । जोखिमले पूँजी, आम्दानी र स्थायित्वमा नकारात्मक प्रभाव निम्त्याउँछ, आम्दानीमा ह्रास, पुँजीको क्षय र अन्य व्यवसायिक उद्देश्य हासिल गर्ने क्षमतामा प्रश्न चिन्ह खडा गर्दछ र उपलव्ध अवसरहरूबाट लाभ लिने काममा अवरोध पुर्याउँछ । त्यसैले जोखिम आँकलन, मापन, व्यवस्थापन र नियन्त्रण गर्न सकिने हुनुपर्दछ । जोखिम लिने व्यक्ति जोखिम र प्रतिफलको बारेमा जानकार हुनुपर्दछ ।

बैंकिङ जोखिमको बर्गीकरण
अर्थ व्यवस्थामा भएको उतारचढाव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारले निम्त्याएका खराबीहरु, सरकारी नीतिको प्रभाव, कर नीति र यसको संरचना, व्याजदरमा आएको उतारचढाव, विश्वव्यापीकरण र आर्थिक उदारीकरण नीतिको प्रभाव जस्ता काबु बाहिरको परिस्थितिले श्रृजना गर्ने जोखिमलाई समग्रमा प्रणालीगत जोखिम भनिन्छ । विशेष प्रकारका जोखिम, जुन फर्म, कम्पनी तथा उद्योग विशेष संग सम्वन्धित हुन्छन् जसलाई आफ्नै प्रयत्नबाट समाधान गर्न सकिन्छ, ती अप्रणालीगत जोखिम हुन् । विषयगत आधारमा बैंकिंग क्षेत्रका जोखिमलाई कर्जा, व्याजदर, विदेशी विनिमय, तरलता, मूल्य सम्बन्धी, कानुनी, सुरक्षा सम्बन्धी जोखिम आदिमा बर्गीकरण गरेको पाइन्छ । बैकिंग क्षेत्रको मापदण्ड निर्धारण गर्ने र अन्तर्राष्ट्रिय असल अभ्यासलाई प्रवद्र्धन गर्ने संस्था द बैंक फर इन्टरनेशनल सेटलमेन्टले बैंकिंग क्षेत्रमा अन्तरनिहित जोखिमहरुलाई समूहीकृत गरी कर्जा जोखिम, बजार सम्बन्धी जोखिम, कार्य संचालन सम्बन्धी जोखिम र तरलता सम्बन्धी जोखिम गरी चार भागमा विभाजन गरी सोही बमोजिमका उपायहरुद्धारा व्यवस्थापन गर्न सिफारिस गरेको छ ।

कर्जासम्बन्धी जोखिम
बैंकबाट प्रवाह भएका कर्जा विभिन्न कारणले असुल हुन नसक्ने अवस्था अर्थात् बैंकका ग्राहकले आफ्नो असक्षमता वा अनिक्षाका कारण बैंक प्रतिको आफ्नो प्रतिबद्धता पूरा गर्न नसकी बैंकलाई हुन सक्ने हानीलाई कर्जा सम्बन्धी जोखिम भनिन्छ । यो ऋणीहरूको कार्यकुशलतामा भएको कमजोरीबाट श्रृजना हुन्छ ।यस्तो जोखिमलाई विविधिकरण गर्न सकिन्छ तर पुर्णतया हटाउन भने सकिंदैन ।सजिलै हस्तान्तरण गर्न सकिंदैन । सम्भावित नोक्सानीलाई उपयुक्त ढंंगले अनुमान गर्न सकिंदैन ।यो बंैकिङ क्षेत्रको सवैभन्दा पुरानो र व्यापक क्षेत्र ओगटने जोखिम हो, यसले बैंकिङ क्षेत्रको कुल जोखिमको७० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको पाइएको छ ।

बजारसम्बन्धी जोखिम
बजारमा व्याजदर, विदेशी मुद्राको विनिमय दर, धितोपत्रहरूको मूल्य र बस्तुको मूल्यमा आएको परिवर्तनले बैंकको आम्दानी तथा पूँजीमा पार्न सक्ने नकारात्मक प्रभावलाई बजार सम्बन्धी जोखिम भनिन्छ । यस अन्तर्गत विदेशी विनिमय सम्बन्धी जोखिम, व्याजदर सम्बन्धी जोखिम, वस्तुको मूल्य सम्बन्धी जोखिम, धितो पत्रको मूल्य सम्बन्धी जोखिम गरी चार प्रकारका जोखिमहरू पर्दछन् । यसमध्ये सवैभन्दा व्यापक र महत्वपूर्ण विदेशी मुद्रा सम्बन्धी जोखिम हो । यो जोखिम विदेशी मुद्रा खरीद विक्री, विदेशी मुद्रामा भएको कर्जा, धितोपत्र, निक्षेप तथा लगानी, डेरिभेटिभ्स आदि कारोवारबाट श्रृजना हुन्छ । विदेशी विनिमयको अवस्था लाई अनुगमन गरी मापन र नियन्त्रण गर्न सकिन्छ ।

व्याजदरसम्बन्धी जोखिम
व्याजदरमा हुने परिवर्तनको कारण वित्तीय प्रतिफल तथा पूँजीमा पर्न सक्ने नकारात्मक असर व्याजदर सम्बन्धी जोखिम हो । तत्कालीन असरको रूपमा आम्दानी घटे पनि लामो अवधिमा बैंकको नेटवर्थ, सम्पति, दायित्व र वासलात बाहिरको कारोवारमा संकुचन पैदा हुन्छ । व्याज संवेदनशील शीर्षकहरूको मौज्दातमा भएको अन्तरनै जोखिमको प्रमुख श्रोत हो ।

कार्य संचालनसम्बन्धी जोखिम
कर्मचारी, प्रकृया तथा प्रणाली र अन्य वाह्य कारणले बैंकको वित्तीय प्रतिफल र पूँजीमा पर्न सक्ने नकारात्मक प्रभावलाई कार्य संचालन सम्बन्धी जोखिम भनिन्छ । यो जोखिमलाई मापन गर्नु कठीन काम हो । कर्मचारीको बदनियतपुर्ण कृयाकलाप, भुल, बैंकको प्रचलित नीति नियम प्रकृयाको अवज्ञा, युनियन गतिविधि, कमजोर आन्तरिक नियन्त्रण प्रणाली, डकैती, हार्डवेयर र सफ्टवेयरको असफलता, ह्याकिंग, आतंक, बाढी, भूकम्प, सम्पति शुद्धीकरण आदि जोखिमका श्रोतहरू हुन् ।

तरलतासम्बन्धी जोखिम
आफ्नो सम्पतिलाई उपयुक्त समयमा, उपयुक्त मुल्यमा नगद तथा नगदजन्य सम्पतिमा परविर्तन गर्न नसक्ने संभावनालाई तरलता सम्बन्धी जोखिम भनिन्छ । बैंकिङ व्यवसायको सन्दर्भमा यो प्रमुख जोखिम हो । कर्जा कारोवारमा भएको अनपेक्षित बृद्दि, ठूला निक्षेपकर्ता प्रतिको निर्भरता, दायित्व पूरा गर्न छुट्याएको रकम अपर्याप्त हुनु, त्रुटीपूर्ण सूचना प्रवाह, नाफामा कमी आउनु, वासलात वाहिरको कारोवारमा अनपेक्षित बृद्दि, आम संचारको माध्यमवाट नकारात्मक प्रचारबाजी आदि जोखिमका श्रोतहरू हून् ।

जोखिमको जगमा बैंकिङ व्यवसाय
बैंकिङ व्यवसाय विशिष्ट प्रकृतिको व्यवसाय हो । यो जोखिमकै जगमा खडा भएको हुन्छ । बैंकले कर्जा प्रवाह गर्नको लागि निक्षेप स्वीकार गर्दछ । वित्तीय मध्यस्थताको यस कार्यबाटै जोखिमको जन्म हुन्छ । विभिन्न प्रकारका व्यवसायको विस्तार, वित्तीय संस्था तथा कृयाकलापहरूको विश्वव्यापीकरण तथा उदारीकरण, तीव्र गतिमा भएको प्रविधिको विकास, नविनतम वित्तीय उपकरणहरूको प्रयोग आदिले बैक तथा वित्तीय संस्थाहरू बीच प्रतिस्पर्धाको स्तर उच्च बनाउनुका साथै जोखिमयुक्त पनि बनाएको छ । यसरी श्रृजित जोखिमलाई व्यवस्थित गर्न प्रभावकारी जोखिम व्यवस्थापनको खाँचो विश्वव्यापी रूपमै महशूस गरिएको छ ।

बैंकिङ जोखिम व्यवस्थापनको बहस
बेला बखत विश्व अर्थ व्यवस्थामा आएका मन्दी, पूर्वी एशियामा देखा परेको आर्थिक संकट, संयुक्त राज्य अमेरिकाबाट शुरु भई विश्वव्यापी बन्न पुगेको वित्तीय संकट आदिले सबैभन्दा पहिले बंैकिङ व्यवसायलाई असर गर्यो । कैयौं बैकहरू बन्द भए भने कैयौं रोगग्रस्त बन्न पुगे । अर्थतन्त्रको अन्य क्षेत्रमा आएको मन्दीको असर बैंकहरुमा टड्कारो रूपमा देखियो । यसै पृष्ठभूमिमा बैंकहरुमा भएका जोखिम र तीनको व्यवस्थापन गर्ने विषयमा बहसहरू हुन थाले । फलस्वरुप जोखिम व्यवस्थापनअहिले डिसिप्लिन कै रूप लिइ विश्वव्यापी बनेको छ ।

बैंकिङ जोखिमको व्यवस्थापन
समग्र बंैकिङ व्यवसायको प्रमुख काम नै जोखिम व्यवस्थापन हो । बैंकहरू जोखिमबाट भाग्दैनन्, जोखिमभित्र अवसरको खोजी गर्छन् । राम्रोसंग व्यवस्थापन गरिएको निश्चित सीमा सम्मको जोखिमले उच्चतम प्रतिफल दिन्छ । जोखिम व्यवस्थापनले बंैकको स्थायित्व र नाफाको सुनिश्चितता दिन्छ, उपलव्ध वित्तीय श्रोत साधनको संरक्षण र उपयुक्त परिचालन हुनुको साथै बैंकको पूँजीको समेत रक्षा हुन्छ ।

बैंकमा प्रभावकारी जोखिम व्यवस्थापनका लागि सबैभन्दा पहिले नीति तथा रणनीति निर्माण, निर्मित नीति संचार एवम् कार्यान्वयनको लागि संरचनाको व्यवस्था र संरचना मार्फत प्रक्रिया निर्धारण एवम् कार्यान्वयन गर्नु पर्ने हुन्छ ।  व्यवस्थापनका विभिन्न तहले गर्ने जोखिम व्यवस्थापन सम्बन्धी कार्य पनि भिन्न भिन्न हुन्छन् ।

जुनसुकै बैंकमा पनि महत्वपूर्ण निर्णयहरू माथिबाट हुन्छ । बैंकको समग्र व्यवसायिक रणनीति बनाउने सन्दर्भमा विभिन्न नीतिहरू बनाउनेर यी नीतिहरूमा अन्तरनिति जोखिमहरू व्यवस्थापन गर्ने महत्वपूर्ण कामको जिम्मेवारी संचालक समितिमा रहेको हुन्छ । उच्च व्यवस्थापन र संचालक समितिको तहवाट सम्पादन हुने जोखिम व्यवस्थापन सम्बन्धी कार्य अन्तर्गत जोखिमको परिभाषा, जोखिम बहन गर्न सक्ने क्षमता निर्धारण, जोखिम व्यवस्थापन सम्बन्धी नीति तथा रणनीति निर्माण, बैंकले बहन गर्दै आएको जोखिम स्वीकारयोग्य सीमासम्म भए नभएको यकीन गर्ने, आवश्यक नियन्त्रण गर्ने तथा उपयुक्त प्रणालीको स्थापना गर्ने लगायतका कार्यहरू पर्दछन् ।

मध्यम स्तरको व्यवस्थापनबाट सम्पादन हुने जोखिम व्यवस्थापन  सम्बन्धी कार्य अन्तर्गत जोखिम पूनरावलोकन को काम पर्दछ । वास्तविक रूपमा जोखिम व्यवस्थापनको काम यसै स्तरबाट सम्पादन हुन्छ । विभागीय तथा महाशाखा स्तरको जोखिम व्यवस्थापन कार्य यस अन्तर्गत पर्दछन् ।

कार्य संचालन स्तरमा श्रृजना हुने जोखिम व्यवस्थापनको काम यस व्यवस्थापकीय तहबाट हुन्छ । जोखिमश्रृजना हुने र लिने तह पनि यही नै हो । व्यवस्थापनका माथिल्ला तहवाट जारी भएका प्रकृया, प्रणाली, नीति तथा परिपत्रहरूका अधिनमा रहेर बैंकको तर्फवाट जोखिम लिने र व्यवस्थापन गर्ने काम कार्य संचालन स्तरबाट सम्पादित हुन्छन् ।

बैंकिङ जोखिम व्यवस्थापनसम्बन्धी विश्वव्यापी दस्तावेज
द बैंक फर इन्टरनेशनल सेटलमेण्टद्धारा जारी गरिएको वासेल सम्बन्धी दस्तावेज बैकिंग क्षेत्रमा निहित जोखिम र यसको व्यवस्थापन गर्ने सम्वन्धमा महत्वपूर्ण र विश्वव्यापी दस्तावेज हो । यस दस्तावेजको सार यस प्रकार रहेको छ :
बैंकिङ व्यवसायमा विभिन्न प्रकारका जोखिमहरु हुन्छन्, ती जोखिमहरुले बैंकको पूँजीमा प्रहार गर्दछन् र यसलाई खियाउँदै लैजान्छन् । वित्तीय संस्थामा नियमित रुपमा व्यवसाय संचालन गर्न, ठूलो मात्रामा हुन सक्ने अप्रत्याशित नोक्सानीलाई पूर्ति गर्न, निक्षेपकर्ता र बाह्य साहुहरुको सुरक्षा गर्न पूँजीको आवश्यकता हुन्छ ।  पर्याप्त पूँजी र उपयुक्त जोखिम व्यवस्थापनको अभ्यासबाट सुरक्षित र मजबुत वित्तीय प्रणालीको विकास गर्नु वासेलका विभिन्न समयमा जारी दस्तावेजकाप्रमुख उद्देश्यहरु हुन् । सर्वसाधारणबाट निक्षेप संकलन गरी त्यसको संरक्षण गर्ने जस्तो संवेदनशील तथा महत्वपूर्ण कार्यमा संलग्न बैंक तथा वित्तीय संस्थाहरुले आपm्ना शेयर धनीहरुको हित मात्र नहेरी निक्षेपकर्ता लगायतका सरोकारवालाहरुको समेत हित संरक्षण गर्न सक्नु पर्दछ । वासेलले बैंकका निक्षेपकर्ता तथा साहुहरुको हित रक्षाको लागि पूँजी पर्याप्त छ भन्ने कुरा सुनिश्चित गराउँदछ, जोखिमयक्त कारोवारहरुको पहिचान गरी त्यसलाई न्यून गर्ने उपायहरु सुझाउँछ र बैंकिङ प्रणाली प्रति सर्वसाधारणको विश्वास अभिवृद्धि गर्दछ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *