January 11th, 2018

बैंकका जागिरे : पैसा ठग्दै भाग्दै

बैंकिङ खबर । बैंकका कर्मचारीहरुमा पैसा ठगी गरेर भाग्ने क्रम रोकिएको छैन । छोटो समयमा धेरै कमाई गर्ने सोचका कारण बैंकका कर्मचारीहरु आफ्नै बैंकलाई ठगी गरेर फरार हुने क्रम बढेको छ । 

हालै मात्र बैंकको रकम दुरुपयोग गरेको आरोपमा सिभिल बैंकका एक कर्मचारी पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले सिभिल बैंकको बौद्ध शाखामा कार्यरत महेश्वर डंगोललाई पक्राउ गरेको हो । डंगोलले ४० लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको देखिएको छ । उनलाई बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको छ ।

यसअघि, कृषि विकास बैंक न्यूरोड शाखाको झण्डै ५ करोड रकम हिनामाना गरेको अभियोगमा बैंककै कर्मचारी (सहायक टेलर) दिपिका रेग्मीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । बैंकको न्यूरोड शाखाबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेण्डिङ भएको देखाएर ४ करोड ९१ लाख हिनामिना गरेको पाइएको थियो ।

तीन दर्जन बैंक संचालक र कर्मचारीद्धारा ठगी
यसअघि पनि करिब तीन दर्जन बैंक सञ्चालक र कर्मचारीले बैंकलाई ठगी गरेको उजुरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग छ । दुई महिनाअघि मात्रै, धरान उपमहानगरपालिकास्थित नेपाल बैंकमा सुनलगायतका वस्तु धितो राखेर कर्जा लिने ऋणी र बैंकमा कार्यरत कर्मचारीसहित १३ जना पक्राउ परेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र धरान प्रहरीको संयुक्त टोलीले बैंक कारोबारमा १५ करोड रुपैयाँभन्दा बढीको ठगी गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको थियो । सुन धितो राखेर कर्जा लिने र कर्जा दिने कार्यमा संलग्न कर्मचारीहरु होमबहादुर भट्टराई, शंकर न्यौपाने, पुष्पराज घिमिरे, रामकिशोर मेहता, सानुबाबु श्रेष्ठ र विद्या तामाङका साथमा सुन व्यापारी एवं ऋणी माधव रिजाल, सङ्गीत रसाइली, लालबहादुर विक, सन्तोष रसाइली, सुनिल विक, ज्ञानेन्द्र पुर्कोटी र लीजा थापामगर पक्राउ परेका थिए । 

यसबाहेक, तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक रहेका कमल ज्ञवाली १५ करोड १६ लाख रुपैयाँ ठगी गरेर बैंकको अस्तित्व नै समाप्त पारेपछि अहिले सजायँ भोगिरहेका छन् । उनलाई अदालतले चार बर्षको जेल सजाय र ६ करोड २५ लाख रुपैयाँ जरिवाना सुनाएको छ । ललितपुरको पाटनमा रहेको उच्च अदालतले ज्ञवाली, उनकी श्रीमती र अन्य ४ जनालाई बैकिङ कसुरमा कैद र जरिवाना फैसला गरेको हो । ज्ञवालीलाई सिद्धार्थ डेभलपमेन्ट बैंकको कर्जा दुरुपयोग गरी बैंकिङ कसुर गरेको अभियोग लागेको थियो । अदालतले ज्ञवालीकी पत्नी गौरी खनाललाई ३ वर्ष कैद र ६ करोड २५ लाख रुपैयाँ जरिवाना गरेको छ । सोही मुद्धामा ऋणी किशोर ढकाललाई ४ वर्ष कैद र ५० लाख रुपैयाँ, धितो मूल्यांकनकर्ता कोमलानन्द अधिकारीलाई ४ वर्ष कैद र ५ करोड ७३ लाख रुपैयाँ जरिवाना भएको छ । 

यसबाहेक, क्यापिटल मर्चेन्ट तथा फाइनान्स लिमिटेडका बैंक सञ्चालक र उनीहरूसँग जोडिएको व्यक्तिहरूले विभिन्न मितिमा सात अर्ब ७३ करोड ५७ लाख रुपैयाँ ठगी गरेका थिए । मदन कार्कीले बैंकका कर्मचारीसँग मिलोमतो गरेर कमसल जग्गा धितो राखेर करिब सात करोड ६४ लाख ठगी गरेका छन् । उनी अहिले बैंकिङ कसुर मुद्दामा केन्द्रीय कारागार सुन्धारामा थुनामा छन् । त्यसरी नै किरणकेशर नेपालले पनि फाइनान्सबाट नौ करोड रुपैयाँ ठगी गरेका छन् ।

त्यस्तै, एनबी समूहका लक्ष्मीबहादुर र जीतबहादुरले एनबी बैंकको करिब तीन करोड र श्रीलंका मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनीको सोही बराबरको रकम ठगी गरेका छन् । यी दुवै वित्तीय संस्थाका सञ्चालक हुन् । सिभिल बैंक बानेश्वर शाखाका कर्मचारीले एक करोड २३ लाख बैंकलाई ठगी गरेका छन् भने नेपाल सेयर मार्केट एन्ड फाइनान्स कम्पनीका कार्याकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठले पाँच अर्ब ९७ करोड ठगी गरे । कृषि विकास बैंकका स्वयम्भू उपशाखा प्रमुख केदार गौतमले ३३ करोड ९३ लाख ठगी गरेका छन् । 

किन हुन्छ ठगी ?
पछिल्लो समय बढिरहेको राजनीतिक अपराधिकरणका कारण यस्ता ठगीहरु दिनप्रतिदिन बढ्दै गएको सरोकारवालाहरु बताउँछन् । राजनीतिक दलको संरक्षणमा थुप्रै ठगीहरु भइरहेका छन् । सुखसयलमा रमाउने मानवीय प्रवृत्तिका कारण पनि यस्ता अपराधहरु बढिरहेको छ । छोटो समयमा धनी बन्ने लोभले मानिसहरु अपराधिक क्रियाकलापमा लाग्ने गर्दछन् । हुन त, बैंक तथा वित्तीय संस्थामा अरु कम्पनीहरुमा भन्दा बढी पारिश्रमिक दिइन्छ । तर, पनि संस्थागत सुशासन तथा ऐन नियमलाई उच्च व्यवस्थापनबाटै मिचिँदै आएको छ । यसमा नियामक निकाय तथा बैंक आफैंले पनि निगरानी गर्नुपर्ने सरोकारवालाहरुको सुझाव छ । गलत मनोवृत्ति भएको एक व्यक्तिका कारण कुनै पनि वित्तीय संस्थाले वर्षौँदेखि कमाएको विश्वास गुम्न जाने हुँदा समयमा नै सतर्कता अपनाउनुपर्ने जानकारहरुको भनाइ छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]