September 6th, 2017

बीमा क्षेत्रमा पाँच चुनौतीहरु : (शेखर बरालको टिप्पणी)

शेखर बराल

१. आम मानिसमा बीमाप्रतिको बुझाई-
कतिपय मानिसहरुमा बीमाप्रतिको बुझाई नै गलत पाइन्छ । जसका कारण बीमा गर्न उनीहरु उदाशीन बनेका हुन् । तर पछिल्लो समय यस्तो अवस्था विस्तारै न्युनिकरण हुँदै गएको छ । आर्थिक दायित्वबाट मुक्त हुन र भविष्य सुरक्षित गर्नकै लागि बीमा गर्ने हो भन्ने कुरा मानिसहरुले बुझ्दैछन् । गत वर्ष बैशाखमा गएको बिनाशकारी भूकम्पका कारण ठूलो क्षति भयो । त्यतिबेलाका समयमा बीमा गर्नेहरुले निकै राहत पाएका थिए । त्यसयता पनि एकथरी मानिसहरुको बीमाप्रतिको गलत सोच परिवर्तन भएको छ । तर बीमाबारेको भ्रम चिर्न एउटा कम्पनीले मात्र भनेर पुग्ने अवस्था छैन । सबैले सामुहिक रुपमा अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता छ । 

२. दक्ष जनशक्ति अभाव
बीमा क्षेत्रको अर्को ठूलो चुनौती भनेको दक्ष जनशक्ति अभाव नै हो । कम्पनीहरुको संख्या बढे तर दक्ष कर्मचारी त्यही अनुपातमा बढ्न सकेका छैनन् । काठमाडौं बाहिरबाट कारोबार थालियो भने बाहिर जाने कर्मचारी पाइदैन । त्यसमाथी बीमाबारे छुट्टै शिक्षाको व्यवस्था नभएकाले त्यसमा पोख्त र चासो राख्ने जनशक्ति पाउन मुस्किल छ । यहाँ कम्पनीमा हामी आफैले तालीम दिनुपर्ने अवस्था छ । हामी प्राय बाहिर–बाहिर नै हिडिराख्नुपर्ने हुन्छ तर पनि कर्मचारीलाई बिमाबारे प्रशिक्षण आफैले दिनुपर्ने अवस्था छ ।  

३. गुणस्तरमा ध्यान नदिनु
हुन त हरेक क्षेत्रमा प्रतिष्पर्धा हुन्छ । तर अस्वस्थ प्रतिष्पर्धा भयो भने त्यसले सम्बन्धीत क्षेत्रलाई राम्रो गर्दैन । बीमाको बजार प्रशस्त छ । बीमाको बारेमा सर्वसाधारणले चासो राख्न थालेकाले कम्पनीहरुलाई थप सहज भएको छ । बीमालेखको संख्यामा मात्र होइन गुणस्तरमा पनि ध्यान दिन सक्यो भने बीमा उद्योगको विस्तारमा नै सहयोग पुग्छ । यो व्यवसाय जनतासँग प्रत्यक्ष जोडिएको छ । गुणस्तरमा ध्यान दिन नसक्दा पनि यसप्रतिको विश्वसनीयता कमजोर हुने खतरा हुन्छ ।

४. प्रतिकुल राजनीतिक वातावरण 
बरु भूकम्पको असर जीवन बीमा कम्पनीमा भने त्यति देखिएन । तर, तराईमा भएको आन्दोलन र सीमामा देखिएको अवरोधले भने जीवन बीमा कम्पनीको व्यवसायलाई असर पारेको छ । मार्केटिङका लागि फिल्ड भ्रमण पूर्णरूपमा प्रभावित भयो । राजनीतिक स्थिरता कायम नभएसम्म उपयुक्त वातावरण पनि कायम हुन सक्दैन । हामीलाई सरकाले निर्वाध रुपमा काम गर्न सक्ने वातावरण मिलाइदिनुपर्छ । 

५. ग्रामीण क्षेत्रमा पुग्न नसक्नु
ग्रामिण क्षेत्रमा हामी चाहेर पनि जान सकेका छैनौँ । गएर पनि प्रभाव जमाउन सकेका छैनौँ । किन भने मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको गाँस, बास, कपास नै हो । त्यसपछि मात्र बाँकी कुराहरुको चाहाना मानिसहरुले राख्ने हो । ग्रामिण भेगमा अहिले पनि अधिकांश जनता गरिबीको रेखामुनि नै छन् । उनीहरुलाई अहिले बीमा गर्नभन्दा पनि दैनिकी कसरी टार्ने भन्नेतिर नै ध्यान छ । त्यो स्वभाविक पनि हो । पहिला आफ्ना आधारभूत आवश्यकता पूरा भएपछि मात्रै न हो बाँकी आवश्यकता, चाहाना र महत्वकांक्षा । त्यसैले ग्रमिण क्षेत्रका मानिसहरुमा हाम्रो पहुँच विस्तार हुन नसक्नुलाई म एक किसिमको चुनौति नै मान्छु । (युनाइटेड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतसमेत बरालसँग बैंकिङ खबर ले गरेको कुराकानीमा आधारित ) 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]