February 12th, 2018

बानेश्वरमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा, सोमबारदेखि संचालनमा आयो

मुक्तिनाथ विकास बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं.१० बानेश्वरमा रहेको शाखा कार्यालयको औपचारिक रुपमा उद्घाटन गरी संचालनमा ल्याएको छ । सोमबार (माघ २९ गते) नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर, पुर्व परराष्ट्र मन्त्री तथा अर्थमन्त्री डा. भेष बहादुर थापाले उक्त शाखाको उद्घाटन गरे । 

बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको शाखा उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले बैंकको कारोबार तथाभावी रणनीति सम्बन्धमा बोलेका थिए । कार्यक्रममा बैंकको अन्य संचालक, संस्थापक सदस्यहरु, स्थानिय व्यापारी, बुद्धिजिवी, पत्रकार तथा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

बैंकको उक्त शाखा संचालनसँगै काठमाडौँ उपत्यकाभित्र ९ वटा शाखा तथा उपत्यकाबाहिर ६५ वटा शाखा सहित मुलुकभर कुल ७४ वटा शाखा पुगेको छ ।

बैंकले २०७४ पौष मसान्तसम्म कुल निक्षेप गतवर्षको सोही अवधिको तुलनामा ४९.०८ प्रतिशतले बृद्धि भई रु. २१ अर्व ७४ करोड पुगेको छ भने कुलकर्जा लगानी ४७.६६ प्रतिशतले वृद्धि भई रु. १९ अर्व ३३ करोड पुगेको छ । साथै, यस अवधि सम्मको खुद मुनाफा गतवर्षको सोही अवधिको तुलनामा १८.४४ प्रतिशतले वृद्धि भई रु. २६ करोड ४४ लाख रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]