January 10th, 2018

बाढीपीडितलाई २ प्रतिशत ब्याजमा कर्जा : अधिकतम २५ लाख पुनर्कर्जा सुविधा

नेपाल राष्ट्र बैङ्कले शून्य ब्याजदरमा पुनर्कर्जा सुविधा उपलब्ध गराए पनि बैङ्क तथा वित्तीय संस्थाले २ प्रतिशत ब्याजदरमा भोजपुर र तेह्रथुमका आगलागीपीडित तथा सप्तरीका बाढीपीडितलाई क्षतिग्रस्त घर पुनर्निर्माण गर्न सहुलियत कर्जा दिने भएको छ । उनीहरूले व्यवसाय पुनः सञ्चालन गर्न उक्त ब्याजदरमा कर्जा पाउने भएका हुन् । राष्ट्र बैङ्कले पुनर्कर्जा सुविधासम्बन्धी कार्यविधिलाई संशोधन गरी मङ्गलवार परिपत्र जारी गरेको छ । राष्ट्र बैङ्कले उक्त प्राकृतिक प्रकोपबाट क्षति भएकालाई राहतस्वरूप २ प्रतिशतको सहुलियत ब्याजदरको व्यवस्था गरेको हो । यो ब्याजदरमा फेरबदल गर्न नपाइने केन्द्रीय बैङ्कको भनाइ छ ।

यो सुविधा भोजपुर बजार र तेह्रथुमको सङ्क्रान्ति बजारमा भएको आगलागीबाट पूर्णरूपमा आवास क्षति भएका ३४ घरधनीहरूलाई हो । ती जिल्लाका पीडितले सरकारी कारोबार गर्ने स्थानीय वाणिज्य बैङ्कमार्फत जिल्ला दैवी प्रकोप उद्धार समितिबाट प्रमाणित भएको क्षतिको विवरणको आधारमा शहरी क्षेत्रमा अधिकतम २५ लाख र अन्य क्षेत्रमा अधिकतम १५ लाख रुपैयाँसम्म सहुलियत ऋण पाउने राष्ट्र बैङ्कका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । यसअनुसार सप्तरीका पीडितले आवासीय घर बनाउन तथा व्यवसाय पुनः सञ्चालन गर्न अधिकतम १५ लाख रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋण लिन सक्नेछन् । यसअघि यस्तो सुविधा भूकम्पपीडितका लागि घर निर्माणमा दिइएको थियो ।

सहुलियत कर्जा लिन आगलागी र डुबानबाट प्रभावित भएको ब्यहोरा सम्बन्धित सरकारी निकायबाट प्रमाणित भई सम्बन्धित बैङ्क/वित्तीय संस्थाले समेत यकीन गर्नुपर्ने छ । उक्त कर्जामा बैङ्कहरूले ब्याजदर परिवर्तन गर्न पाउने छैनन् । यस्तो कर्जामा ब्याज तथा तेस्रो पक्षलाई भुक्तानी गर्नुपर्ने (बीमा, धितो मूल्याङ्कन, कर्जा सूचना र सुरक्षण शुल्क) लागतबराबरको शुल्कबाहेक अन्य कुनै पनि प्रकारको शुल्क लिन पाइने छैन । राष्ट्र बैङ्कका अनुसार यस्तो कर्जा शुरूको १ वर्ष ग्रेस अवधि हुने गरी कम्तीमा ५ वर्ष र बढीमा १०
वर्षसम्मको हुनेछ ।

यस्तो सुविधा एकपटकको लागि बढीमा १ वर्षसम्म मात्र दिइने र कानूनी व्यवस्थामा रही थप १ वर्षसम्म नवीकरण गर्न सकिने व्यवस्था गरेको छ । उक्त कर्जा लिएपछि निर्माण प्रगतिको आधारमा कम्तीमा ४ पटकसम्म भुक्तानी गर्नुपर्नेछ । पुनः व्यवसाय सञ्चालनको भने २ चरणमा भुक्तानी गर्नुपर्नेछ । ऋणीले १ वर्षसम्म कर्जाको सावाँ ब्याज वा किस्ता तिर्नुपर्ने छैन भने त्यसपछि वार्षिक किस्ताका रूपमा ५ वा १० वर्षभित्र तिरिसक्नु पर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]