September 10th, 2017

नेपाल इन्फ्रास्ट्रक्चर बैंक छ महिनाभित्र सुरु हुन्छ

लामो समय सम्म बहसको बिषय बनेको पूर्वाधार विकास बैंक अन्ततः सञ्चालनमा आउने भएको छ । नेपालमा पूर्वाधार विकास गर्नका लागि पूर्वाधार विकास बैंकको स्थापना गर्नुपर्छ भन्ने लामो बहस पछि नेपाल सरकार पनि सकारात्मक देखिएको थियो । सरकारले चालु आर्थिक बर्षको बजेटमा नै पूर्वाधार विकास बैंक स्थापना गर्ने कुरालाई समेटेको थियो भने मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीति मार्फत पूर्वाधार विकास बैंक खोल्न बाटो खुला गरिदिएको थियो । सोहीअनुरुप, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड दर्ताका लागि नेपाल राष्ट्र बैंकमा आवेदन परिसकेको छ । मुलुकमा पूर्वाधार विकास बैंक स्थापनाका लागि इमर्जिङ नेपालले नेतृत्वदायि र मूख्य भूमिका खेलेको छ । यसैबीच, पूर्वाधार विकास बैंक स्थापनाको सेरोफेरोमा रहेर इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत डा. विनोद आत्रेयसँग बैंकिङ खबरका रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

पूर्वाधार विकास बैंक के हो ? 
पूर्वाधारमा नेपाल धेरै पछाडी छ । तर, पूर्वाधारको विकास होओस् भन्ने हाम्रो चाहना छ । काठमाडौंबाट भारतको दिल्लीसम्म एकैदिनमा जानसकौँ, विहान दिल्ली पुगेर खाना खाएर बेलुका डिनरका लागि काठमाडौँ नै आइपुगौँ भन्ने चाहान्छौं । त्यस्तै, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म चल्ने रेल होस, सुविधा सम्पन्न विमानस्थल, राम्रो सडक सञ्जाल होस्, अन्य देशको तुलनामा हाम्रो देशको पूर्वाधार पनि अग्रपंक्तिमा होस् भन्ने हाम्रो चाहना छ । नेपालमा पूर्वाधारको विकास भए मात्रै हामीले त्यो चाहनालाई पुरा गर्न सक्छौँ । त्यसैले, नेपालमा पूर्वाधारमा लगानी गर्नु धेरै आवश्यक छ । यो विषयलाई नेपाल सरकारले मनन गरेर विगत २।३ बर्ष देखि पूर्वाधार विकास बैंक खोल्ने प्रयास गर्दै आएको छ । विगत केहि बर्ष अघिदेखिको बजेटमा पनि यो विषयलाई समावेश गर्दै आइएको छ । चालु आर्थिक बर्षको लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले पनि पूर्वाधार विकास बैंक खोल्न २० अर्बको चुक्ता पूँजी चाहिन्छ भनेर निर्णय गरेको छ । फलस्वरुप अहिले हामीले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड नामक पूर्वाधार विकास बैंक दर्ताका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिइसकेका छौँ । 

पूर्वाधार विकास बैंकले के–के काम गर्छ ? 
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गर्ने काम धेरै छन् । यसले पूर्वाधार सम्बन्धी परियोजनामा लगानी गर्छ । हाइड्रोपावर, सडक, रेल वे, पर्यटन होटलहरु, कृषिसँग सम्बन्धित क्षेत्र, स्मार्ट सिटि, इण्डस्ट्रीयल पार्क, एजुकेशनल सिटि निर्माण लगायतका कामहरु गर्छ । संघीय संरचनामा गएपछि सात वटै प्रदेशमा भवनहरु निर्माण गरेर भौतिक पूर्वाधार लगायतका कुराहरुमा पनि लगानी गरिन्छ । 

यसबाहेक, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पूर्वाधारमा लगानी गर्ने संस्थाहरुको सेयरमा पनि लगानी गर्छ । अहिले नेपालमा भारत लगायत अन्य मुलुकहरुले विभिन्न परियोजनाहरु संचालन गरिरहेका छन् । साथमा मुलुकभित्र विभिन्न आयोजनाहरु निर्माणका लागि स्वदेशी तथा विदेशी दाताहरु सहयोग पनि गरिरहेका छन् । यसरी, पूर्वाधारमा लगानी गर्नका लागि विदेशबाट आइरहेको पुँजीको परिचालन गर्ने काम यो बैंकले गर्नेछ । अन्तर्राष्ट्रिय निकायहरुबाट आउने सहयोग तथा ऋणको कुशल व्यवस्थापन गर्ने र परिचालन गर्ने काम पनि यस बैंकले गर्छ । 

पूर्वाधारमा लगानी गर्नका लागि पहिले त पब्लिकमा जानुपर्छ । त्यसपछि स्वदेशी तथा विदेशी मुद्रामा डिभेन्चर जारी गरेर श्रोत जुटाउनुपर्छ । महत्वपूर्ण श्रोत जुटाउन कतिपय राष्ट्रका केन्द्रीय बैंकले केहि प्रतिशत चाहिँ अनिवार्य रुपमा पूर्वाधारमा लगानी गर्नुपर्छ भन्छ । भोलि यो नियम नेपाली बैंकमा मात्रै नभएर बीमा कम्पनीमा समेत आउन सक्छ । राष्ट्र बैंकले बैंकलाई र बीमा समितिले बीमा कम्पनीलाई निश्चित लगानी पूर्वाधारमा गर्न निर्देशन दिन सक्छ । जसअनुसार, कमर्शियल बैंकहरुले आफैँ लगानी गरे भने ठिकै हो, नत्र नेपाल इन्फ्रास्ट्रक्चर बैंकमार्फत पनि गर्न सक्छन् ।

नेपालको पूर्वाधार विकास गर्न स्थापना गर्न लागिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकका लागि २० अर्ब चुक्ता पूँजी पर्याप्त छ ? 
२० अर्ब रुपैयाँ नेपाल इन्फ्रास्ट्रक्चर बैंकका लागि पर्याप्त पूँजी होइन । तर शुरुवाती अवस्थामा यतिले काम गर्छ । हिजो २ अर्बबाट वाणिज्य बैंकहरुको चुक्ता पूँजी ८ अर्ब बनाइएको छ । यसरी नै भोलिका दिनमा यो बैंकको पनि पूँजी बढाउन सकिन्छ । नेपालका लागि यो क्षेत्रको नौलो अनुभव हो । यसकारण शुरुवातमा २० अर्ब चुक्ता पूँजी ठीकै हो ।  

नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा कुन कुन क्षेत्रको लगानी छ ? 
नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा बैंक, बीमा कम्पनी, प्राईभेट इन्टरप्राइजेज तथा व्यक्तिगत लगानी समेत रहेको छ । बैंकहरुमा चाहिँ अहिले प्रभु बैंक,एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक र ग्लोबल आईएमई बैंकको लगानी रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंक लगायत अन्य बैंकहरुले पनि लगानी गर्ने इच्छा देखाइरहेका छन् । 

नेपाल इन्फ्रास्ट्रक्चर बैंक कहिलेदेखि सञ्चालनमा आउँछ ?  
हामीले भर्खरै मात्र नेपाल राष्ट्र बैंकमा दर्ताका लागि निवेदन दिएका छौं । सकेसम्म छिटो सञ्चालन गर्ने सोचमा हामी छौँ । निवेदनमाथि आवश्यक कारबाही गरेर नेपाल राष्ट्र बैंकले हामीलाई पत्र पठाएपछि हामीले निश्चित रकम जम्मा गर्छौँ र भौतिक पूर्वाधार निर्माणमा जुट्छौँ । यी सबै कामकारबाही पूरा गर्न झन्डै छ महिना लाग्न भन्ने मेरो अनुमान छ । कामहरु धमाधम अघि बढ्दै गयो भने अबको छ महिनापछि नेपाल इन्फ्रास्ट्रक्चर बैंक संचालनमा आउँछ ।

कर्मचारी नियुक्ति कुन ढंगले हुन्छ ? कति जति मान्छेले यसमा रोजगारी पाउँछन् ? 
हामीले यस बैंकमा ४५ जनासम्म मान्छे राख्ने भनेर परिकल्पना गरेका छौँ । अब नेपाल राष्ट्र बैंकले एलओआई दिई सकेपछि  हामीले विज्ञापन गर्छौँ । विज्ञापनबाट उत्कृष्टलाई छनौट गरेर हामीले कर्मचारी नियुक्त गर्छौँ । सुरुवाती अवस्थामा थोरै कर्मचारी राखिएपछि आवश्यकताअनुसार, क्रमशः थपिँदै लगिनेछ । 

नेपालमा पूर्वाधार विकास बैंकको आवश्यकता र महत्वबारे बताईदिनोस् न । 
मैले अघि पनि भनिसके, नेपाल पूर्वाधारको क्षेत्रमा अत्यन्तै कमजोर छ । जनताले पूर्वाधारको विकास चाहेका छन् । आर्थिक विकासको लागि सबैभन्दा पहिले चाहिने भनेको कुरा नै पूर्वाधार हो । जीवनलाई राम्रो र सहज बनाउनका लागि पनि हामीलाई पूर्वाधार चाहिन्छ । अहिले वुटवल जानुपर्यो भने ८ घण्टाभन्दा बढी समय लाग्छ । मुग्लिङको जाम उस्तै हुन्छ । तर त्यही बाटोमा रेलमार्ग भइदिएको भए ८ घण्टा लाग्ने बाटो क्षणभरमा नै पुग्न सकिने थियो । विश्वका १४० देशहरुमध्ये पूर्वाधार विकासको क्षेत्रले हेर्ने हो भने हाम्रो देश नेपाल १ सय ३१ औँ स्थानमा पर्छ । यसले नेपालको पूर्वाधार विकासको अवस्थालाई स्पष्ट पार्छ । 

वास्तवामा नेपालमा पूर्वाधारको क्षेत्रमा लगानी नै गरिएको छैन । अहिले हामीले कुल जिडीपीको ३ देखि ४ प्रतिशत मात्रै पूर्वाधारको क्षेत्रमा लगानी गरेका छौँ । यसलाई बढाएर, कम्तीमा पनि ८ देखि १० प्रतिशत पुर्याउनु जरुरी छ । नेपालको सर्वाङ्गण विकास, जनताको आर्थिक स्तर उकास्न, गरिबी न्युनिकरण लगायतका लागि पूर्वाधार विकास गर्नु अपरिहार्य छ । हामीले जति पूर्वाधार विकास गर्न सक्यौँ, त्यति नै हाम्रो मुलुक आर्थिक रुपमा सबल हुँदै जान्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]