September 18th, 2017

दशैँको बेला बैंकिङ क्षेत्रका लागि विशेष सुरक्षा परिचालन हुन्छ

नेपालीहरुको महान पर्व बडा दशैँ, तिहार तथा छठ पर्व नजिकिँदै छ । यो समयमा सर्वसाधारणले धेरै नगदको कारोबार गर्छन् । किनमेल, भिडभाड, अस्तव्यस्तता यही बेलामा बढी हुने गर्छ । यो बेला किनमेलका लागि धेरै नागरिकले बैंक तथा वित्तीय संस्थामा कारोबार गरिरहेका हुन्छन् । चाडबाडका बेला बैंक तथा वित्तीय संस्थामा दशैँमा चाहिने नयाँ नोट तथा दशँै खर्चका लागि पैसा व्यवस्थापन गर्न समेत सर्वसाधारणहरुको भिड लाग्ने गर्छ । साविकको तुलनामा धेरै मानिसले बैंकिङ कारोबार गर्ने भएकाले यो समयमा उनीहरुको सुरक्षा बैंकहरुका लागि चुनौतिपूर्ण हुन्छ । यसैबीच नजिकिँदै गरेको दशैँ र बैंक तथा वित्तीय संस्था तथा त्यहाँ कारोबार गर्ने सर्वसाधारणको सुरक्षा रणनीतिबारे नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरिक्षक (डिआईजी) मनोज न्यौपानेसँग बैंकिङ खबर डटकमका रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

दशैँको बेलामा बैंक तथा वित्तीय संस्थाहरुमा धेरै मानिसहरुले नगद कारोबार गरिरहेका हुन्छन् । यो समयमा बैंकमा कारोबार गर्ने नागरिक र बैंक तथा वित्तीय संस्थाको सुरक्षाको लागि प्रहरीको रणनीति कस्तो छ ?
नेपालीहरुको महान पर्व दशैँ तिहारमा स्वभाविक रुपले बैंक तथा वित्तीय संस्थाहरुमा आर्थिक कारोबार बढी हुन्छ । त्यसैले, यो बेलामा अपराधिक घटनाहरु पनि हुन सक्छन् । यसलाई मध्यनजर गर्दै प्रहरीले बैंक तथा वित्तीय संस्थाहरुसँग छलफल गर्ने गर्दछ । बैंकहरु चाडबाडका बेला कहिलेदेखि कहिलेसम्म खुल्छन् ? त्यो अवधिमा सुरक्षा कसरी दिने भन्ने विषयमा हामीले बैंकमा कार्यरत सुरक्षाकर्मीहरुसँग पनि छलफल गर्छौँ । बैंकका सुरक्षाकर्मीहरुले के कसरी सुरक्षा दिइरहेका छन् ? थप कस्तो किसिमको सुरक्षा दिनु आवश्यक छ ? लगायतका बिषयमा अध्ययन गरेर थप कस्तो किसिमको सुरक्षा सतर्कता अपनाउन सकिन्छ भन्ने कुरामा बैंकका सुरक्षाकर्मीहरुलाई सल्लाह पनि दिन्छौँ । कुन तरिकाले सुरक्षा सतर्कता अपनाउनुपर्छ त्यो हामी अपनाउछौँ । पक्कै पनि चाडबाडका बेलामा हामीले अरु समयमा भन्दा बढी सुरक्षा सतर्कता अपनाउनुपर्छ । हामीले वित्तीय संस्थाहरुको सुरक्षाका लागि चाडबाडका बेला बिशेष सुरक्षा प्रदान गर्छौँ । सादा पोशाकमा प्रहरी परिचालन, मोवाइल गस्ती, पिकेटको माध्यमबाट सुरक्षा, बैंक तथा वित्तीय संस्थासँग सुरक्षा सतर्कताका बिषयमा छलफल, बैंकको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सुरक्षा सम्बन्धी थप जानकारी दिने, पूर्व अपराधिहरुको बिशेष निगरानी गर्ने, जनताहरुलाई सुरक्षा सचेतना तथा सुरक्षा सतर्कता अपनाउन अनुरोध गर्ने जस्ता रणनीतिहरु बनाएका छौं ।

बैंक तथा वित्तीय संस्थाले नै अपनाउनुपर्ने सतर्कता के–के हुन सक्छ ?
बैंक वित्तीय संस्थाहरु आफैँले बिशेष सुरक्षा सतर्कता अपनाउनुपर्ने हुन्छ । नगद कारोबार भइरहको बेला बिशेष ध्यान दिने, सुरक्षाकर्मीहरु तैनाथ राख्ने, अन्य समयको भन्दा धेरै चाडबाडको बेला सुरक्षाकर्मी परिचालन गर्ने, सीसी टिभि क्यामेरा लगायतलाई दुरुस्त पार्ने लगायतका सुरक्षा सतर्कता अपनाउनुपर्ने हुन्छ ।

प्रहरीको तर्फबाट बैंक तथा वित्तीय संस्थाहरुले चाडबाडको बेला कस्तो सुरक्षा महशुस गर्न पाउछन् ?
बैंक तथा वित्तीय संस्थाहरुका साथै उनीहरुका ग्राहकलाई समेत सुरक्षित महशूस गराउनका लागि प्रहरी अहोरात्र खटिने छ । विगतको तथ्यांक हेर्ने हो भने पनि चाडबाडको बेला बैंक तथा वित्तीय संस्थामा कुनै अप्रिय घटना भएका छैनन् । सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल प्रहरी सदैव तैनाथ छ । तर बैंक तथा वित्तीय संस्थाहरुले पनि आफ्नो तर्फबाट सुरक्षा सतर्कता भने अपनाउनुपर्छ । अन्य दिनको तुलनामा चाडबाडको बेला बैंकहरुले पनि सुरक्षामा बिशेष ध्यान दिनुपर्छ ।

ग्राहकले कस्ता सुरक्षा अपनाउने त ?
मुलुकमा बैंकिङ अपराधमा विदेशी नागरिकहरु संलग्न हुने गरेको पाइएको छ । एटिएमबाट नगद चोरीमा विदेशी नागरिकहरु विभिन्न समयमा पक्राउ परेका छन् । अन्य मुलुकको भन्दा बढी नेपाल प्रहरीले यसमा सफलता हासिल गरेको छ । आठौं, दशौं समूहहरुलाई प्रहरीले पक्राउ गरेको छ । भर्खरै मात्र पनि केन्द्रीय अनुसन्धान ब्यूरोले एटिएमबाट पैसा चोरी गर्ने केहि व्यक्तिलाई पक्राउ गरेको छ । त्यसैले, एटिएम प्रयोग गर्दा प्रयोगकर्ताले बिशेष ध्यान दिनुपर्ने हुन्छ । एटिएमको पिन बेला बेलामा परिवर्तन गरिरहने, पैसा निकालिसकेपछि फिनिस गरेर मात्रै एटिएमबाट बाहिरिने जस्ता सतर्कता अपनाउनुपर्छ । त्यस्तै पैसा जम्मा गर्न वा निकाल्न जाँदा समेत बिशेष सतर्कता अपनाउनुपर्छ । आफ्नो थैली सुरक्षित राखे अर्कालाई दोष लगाउनु पर्दैन ।

विगतका वर्षहरु र अहिलेको सुरक्षा चुनौति कस्तो छ ?
सुरक्षा चुनौती खासै ठूलो केहि छैन । अहिले विभिन्न बैंकिङ कार्डहरुको प्रयोगहरुमा अलि चुनौती देखिएको छ । विदेशी नागरिकहरुले कार्डको माध्यमबाट अपराध गरिरहेको विगतका घटनाले देखाएका छन् । यसमा अलि सुरक्षा सजगता अपनाउनुपर्ने देखिएको छ । प्रविधिको विकाससँगै थप सुरक्षा अपनाउनुपर्ने भएपछि खासै ठूलो चुनौती चाहिँ छैन ।

बैंकिङ अपराध सम्बन्धमा उपत्यकामा कस्ता किसिमका अपराधिक घटना बढी हुन सक्छन् ?
नगद साथमा भएका व्यक्तिलाई अपराधिक समूहले फकाउने, विभिन्न प्रलोभनमा पार्ने, सोझा साझा जनतालाई ठगी गर्ने जस्ता अपराधिक घटना हुन सक्छन् । यसका लागि सर्वसाधारणले सतर्कता अपनाउनुपर्छ । उदाहरणको लागि कुनै एक व्यक्ति खुद्रा पैसा साट्नका लागि बैंक जाँदा कसैले खै दिनुस् म साटिदिन्छु भनेर पैसा लिएर भाग्न सक्छ । यस्ता खाले विभिन्न प्रकारका अपराधिक घटनाहरु हुन सक्छन् ।

भनेपछि बैंकिङ कारोबार गर्ने सर्वसाधारण सुरक्षित छैनन् ?
बैंकिङ कारोबार गर्ने सर्वसाधारणहरु सुरक्षित नभएका होइनन् । मैले भन्न खोजेको के हो भने, कसैले कसैलाई फकाएर, लट्याएर लुट्न सक्छ । यसका लागि आफू पनि सजग भइरहनुपर्छ । भारतबाट आउँदा रेलमा अथवा बसमा अपरिचित व्यक्तिले बेहोस हुने खानेकुरा दिएर बेहोस बनाएर लुटपाट गर्न सक्छन् । नेपाल–भारत सीमामा यस्ता प्रकारका घटना बढी हुन सक्छन् । अपरिचित व्यक्तिले दिएको केहि पनि खानेकुराहरु खानु हुँदैन । कसैले फकाउन वा लोभ्याउन सक्छ, त्यसबाट सजग हुनुपर्छ । कसैले म आपतमा परेँ, मसँग धेरै सुन छ, सस्तोमा दिन्छु, लिइहाल्नुस भन्यो भन्दैमा लिईहाल्नु हुँदैन । त्यसमा फस्न सकिन्छ । सर्वसाधारणहरुले यस्ता कुरामा सावधानी अपनाउनुपर्छ ।

चाडबाडका बेला बैंकिङ कारोबार गर्ने नागरिकहरुले ध्यान पुर्याउनुपर्ने कुराहरु के–के हुन् ?
चाडबाडका बेलामा हामीलाई पैसाको कारोबार धेरै गर्नुपर्ने हुन्छ । यस्तो समयमा चोरीचकारी, लुटपाट वा ठगी गर्नेहरु सल्बलाइरहेका हुन्छन् । त्यसैले, यो बेला बैंकमा पैसा जम्मा गर्न जाँदा वा पैसा झिकेर ल्याउँदा आफू चनाखो हुने, अपराधिक व्यक्ति वा समूहले झुक्याउन सक्ने कुरामा सजग रहने, नशालु तथा बिशालु पदार्थ सेवन गराएर लुटपाट गर्न सक्ने कुरामा पनि सजग रहने, आफ्नो पैसालाई सुरक्षित तवरमा राख्ने, तथा बैंक तथा वित्तीय संस्थामा कारोबार गर्दा शंकालु व्यक्ति वा अपराधिक समूह देखिए तत्कालै १०० मा डायल गरी प्रहरीलाई खबर गर्ने लगायतका कामहरु गर्नुपर्छ । दशैँका बेलामा मात्र नभएर हरेक समयमा सर्वसाधारणले यस्तो सावधानी अपनाउनुपर्छ ।

तपार्इँ नेपाल प्रहरीको प्रवक्ता पनि हुनुहुन्छ । अन्त्यमा, प्रहरीको तर्फबाट केही भन्न चाहानुहुन्छ ?
पहिले त नजिकिँदै गरेको दशैँतिहारका लागि भनेर प्रहरीले सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइसकेको जानकारी बैंक वित्तीय संस्था तथा सर्वसाधारण नागरिकलाई दिन चाहान्छु । तर, प्रहरी छँदै छ नि भनेर आफूले हेलचेक्र्याईँ गर्ने काम कदापि नगर्नुहोला । सुरक्षा सम्बन्धी कुरामा तपाईँहरु स्वंयमले पनि धेरै सजगता अपनाउनुपर्ने हुन्छ । कसैले अपराधिक क्रियाकलप गर्न खोजेको जानकारी पाए तत्कालै नजिकको प्रहरीलाई खबर गरिदिनु होला । नेपाल प्रहरी सदैव तपाईहरुको साथमा छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]