June 29th, 2017

तपाईको सम्पत्ति बीमा गर्नुभयो ? हेर्नुहोस् ‘निर्जिवन बीमा’को महत्व र आवश्यकत्ता 

बीमा भनेको आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो । बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति) बीच सम्झौता हुन्छ । सोही सम्झौताका आधारबाट बीमा कम्पनीले नोक्सानीको क्षतिपूर्ति दिन्छ । तपाईं हामी सबै मानिस भोली अर्थात भविष्यका बारेमा अनविज्ञ हुन्छौँ । तर अचानक भोली जे पनि हुन सक्छ । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्छ । यसरी भोलिका दिनमा हुन सक्ने जोखिमको न्युनिकरण गर्न तथा भविष्यमा हुने जोखिम अरुलाई हस्तान्तरण गर्नका लागि अपनाइने कानूनी विधि वा बीमा कम्पनिसँग गरिने एक प्रकारको सम्झौता नै बीमा हो । बीमा सरकारी ऐन अनुसार स्थापना भई नियामक निकायको रेखदेखमा संचालन हुने तथा विदेशी ठुला कम्पनीसँग पुनर्बीमा हुने हुँदा बीमा कम्पनी कसैको पैसा लिएर भाग्न सक्दैनन् । यी कम्पनीहरु आधिकारीक, भरपर्दो र विश्वासीलो मानिन्छन् । ‘बीमा’ शब्द फारसीबाट आएको शब्द हो । जसको अर्थ हुन्छ– ‘भावार्थ’ अर्थात ‘जिम्मेवारी लिनु ।’ त्यसैले पनि विभिन्न विश्लेषकहरुले बीमालाई ‘जोखिम हस्तान्तरण’को रुपमा व्याख्या गर्ने गरेका छन् ।

निर्जीवन बीमा
निर्जीवन बीमा मानिसले आर्जन गरेको चल–अचल सम्पत्तिको सुरक्षा गर्नका लागि गरिने बीमा हो । जस्तै घर, उद्योग कलकारखाना, गाडी, मोटरसाइकल वा यस्तै प्रकारका सम्पत्ति हानी नोक्सानी भएमा सो को क्षतिपूर्ती होस् भनेर नीर्जिवन बीमा गरिन्छ । यस किसिमका बीमा अन्तर्गत दुर्घटना, औषधी उपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिम लगायातको बीमा हुन्छ । दुर्घटना, आगलागी, चोरी तथा भूकम्पलगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने हानीको क्षतिपुर्ति प्राप्त गर्न तथा यस्ता जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति र राहत पाउन बीमा गर्ने गरिन्छ । पछिल्लो समय सरकारले कृषि बीमा पनि ल्याएको छ । यस अन्तरगत व्यबसायीक कृषि र पशुपालनमा पनि बीमा हुने गर्दछ । भौतिक सम्पति, उत्पादनमुलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बीमाको क्षेत्र विस्तार भईरहेको छ । यसरी बीमा गरीसकेपछि तोकिएअनुसार थोरै रकम भुक्तानी गर्दा सम्पूर्ण सम्पत्तिको सुरक्षा हुने हुँदा बीमा गर्नु अत्यन्तै आबश्यक मानिन्छ । 

नेपालमा बीमाको सुरुवात
नेपालमा बीमा व्यवसायको सुरुवातका सम्बन्धमा बीमा विज्ञ चन्द सिंह साउद लेख्छन–‘नेपालको आधुनिक बीमा व्यवसायको सुरुवातको इतिहास धेरै पुरानो छैन । आरम्भमा भारतीय बीमा कम्पनीहरुले खुलारुपमा कार्यालय खोली बीमा अभिकर्ता वा इन्सपेक्टर (कम्पनिको प्रतिनिधि) मार्फत नेपालमा बीमा व्यवसाय चालएका थिए । स्वदेशी बीमा कम्पनिको स्थापना हुनुभन्दा अघि ६ वटा भारतीय बीमा कम्पनीले नेपालमा काम गरेको अभिलेख भेटिन्छ । बैंकिङ कारोबारको बृद्धिसँगै बीमाको महत्व र आवश्यकता बढ्यो । नेपाल बैंक लिमिटेडले वि.सं. २००४ असोज ८ गते बीमा कारोबार सम्हाल्न आफ्नो सहायक कम्पनीको रुपमा नेपाल बीमा र माल चलानी कम्पनी स्थापना गरेको थियो । यसलाई नै नेपालको पहिलो बीमा कम्पनीको मान्यता दिइएको छ । उक्त माल चलानी कम्पनी अहिले नेपाल इन्स्योरेन्स कम्पनीको नामले क्रियाशील छ ।

बीमाको महत्व र आबश्यकता 
बीमा गर्दा कुनै पनि व्यक्तिले दोश्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने हो । त्यसैले बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति)लाई कहिलै पनि घाटा हुँदैन । 
बीमा गर्ने कम्पनीले पनि पुर्नबीमा गर्ने भएका कारण उक्त कम्पनीमा क्षति हुँदा वा उक्त कम्पनी डुवेको अबस्थामा पनि बीमा गर्ने व्यक्तिलाई हानी हुँदैन । पुर्नबीमा भनेको उक्त बीमा कम्पनिको पनि बीमा गरिएको भन्ने हो । बीमा गर्दा भविश्यको सुरक्षा हुने हुँदा यसले उज्वल भविश्यका लागि सहायता गर्दछ । विभिन्न चोरी, हुलदङ्गा आदीको जोखिमबाट बच्नका लागि पनि बीमा गर्नु उपयुक्त मान्निछ । जीवन बीमाको हकमा बीमा गरेको व्यक्तिको बीमा अवधिभित्रै मृत्यु भएको अबस्थामा पनि परिवारमा आर्थिक समस्या पर्दैन । बीमितको परिवारले बीमा कम्पनीबाट प्राप्त गरेको रकमबाट आफ्नो जीविका चलाउन सक्छ ।
आयकर ऐनअनुसार बीमा गरेमा २० हजार रुपैयाँसम्मको आयमा करछूट हुने व्यवस्था छ । करमा छूट पाइने हुँदा बीमा गर्दा बीमितले त्यसबाट पनि लाभ लिन सक्छन् ।बीमा गर्दा २ वर्षको बीमाशुल्क भुक्तानी गरिसकेपछि सो बीमालेखमा सो अवधिसम्मको समर्पण मूल्यको बढीमा ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ । ऋण सुविधा प्राप्त गर्नलाई बीमालेखबाहेक अन्य सम्पत्ति धरौटीमा राख्नु पर्दैन । पुर्नजीवन बीमा सम्पत्तिको सुरक्षाका लागि गरिने भएको हुँदा सम्पत्ति हराउला कि ? चोरीएलाकी ? आगलागी होलाकी ? भन्ने जस्ता चिन्ताबाट मुक्त हुने उपाय नै बीमा हो ।  

नियामक निकाय
बीमा कम्पनीहरुको नियामक निकायका रुपमा ‘बीमा समिति’ रहेको छ । उक्त नियामक निकायले सबै बीमा कम्पनिको रेखदेख गर्ने हुँदा र समितिले नेपालभर रहेका बीमा कम्पनीहरुको नियमन गर्नुका साथै बीमा क्षेत्र सुधारका विभिन्न योजना तथा निर्देशनहरु जारी गर्ने हुँदा बीमा कम्पनिहरुले आफूखुसी काम गर्न सक्दैनन् । जसले गर्दा उनीहरुप्रतिको विश्वास कायम गरहन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]