December 9th, 2017

… जसको हातमा छ सन्सारभरीको आधा सम्पत्ति

जुरिच (स्वीट्जरल्याण्ड) । विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिससँग विश्वको आधाभन्दा धेरै सम्पत्ति रहेको एक प्रतिवेदनले देखाएको छ । स्वीस बहुराष्ट्रिय वित्तीय सेवा प्रदायक कम्पनी क्रेडिट सुसीको ‘ग्लोबल वेल्थ’ शीर्षकको प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार विगत १२ महीनामा विश्वको कुल सम्पत्ति ६ प्रतिशत बढेर २ हजार ८ सय खर्ब डलर पुगेको छ । वृद्धिको यो दर सन् २०१२ यताकै उच्च हो । प्रतिवेदनसँग विगत १ वर्षमा वृद्धि भएको १ सय ६७ खर्ब डलरबराबरको सम्पत्तिमध्ये आधा अमेरिकामा छ । सो अवधिमा अमेरिकीको धन ८५ खर्ब डलर बढेको छ ।

यद्यपि, विश्वमा सम्पत्तिको वृद्धि सबैतिर उति नै भने छैन । प्रतिवेदनअनुसार विश्वको ५० दशमलव १ प्रतिशत सम्पत्ति १ प्रतिशत सर्वा्धिक धनीको हातमा छ । सन् २००१ मा भने उनीहरूको हातमा विश्वको ४५ दशमलव ५ प्रतिशत सम्पत्ति थियो । त्यस्तै, सबैभन्दा धनी १० प्रतिशत विश्व जनसङ्ख्याको मुठ्ठीमा भने विश्वको ८६ प्रतिशत सम्पत्ति छ । आउँदा वर्षमा विश्वमा १० लाख डलर वा सोभन्दा धेरै सम्पत्ति हुने मानिसहरू अर्थात् मिलेनियरहरूले झनै राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । प्रतिवेदनअनुसार अहिले विश्वको मिलेनियर जनसङ्ख्या ३ करोड ६० लाख छ । सन् २०२२ सम्ममा यो बढेर ४ करोड ४० लाख पुग्नेछ ।

मिलेनियर जनसङ्ख्यामा अमेरिका सबैभन्दा अगाडि छ । अमेरिकामा १ करोड ५३ लाख मिलेनियर छन् । सर्वा्धिक मिलेनियर भएको देशको सूचीमा जापान दोस्रो स्थानमा छ । त्यहाँ २७ लाख जापानीका हातमा १० लाख डलर वा सोभन्दा धेरै सम्पत्ति छ । त्यस्तै, यो सूचीको तेस्रो स्थानमा २२ लाख लखपति जनसङ्ख्यासहित बेलायत रहेको छ । सूचीको चौथो स्थानमा चीन छ । प्रतिवेदनअनुसार चीनमा १९ लाख मानिससँग १० लाख डलर वा सोभन्दा धेरै सम्पत्ति छ । यद्यपि, सन् २०२२ सम्ममा भने चीनमा मिलेनियर जनसङ्ख्या बढेर २८ लाख पुग्ने प्रक्षेपण प्रतिवेदनमा क्रेडिट सुसीले गरेको छ ।  

भारतमा साढे २ लाख लखपति
क्रेडिट सुसीको प्रतिवेदनअनुसार भारतमा २ लाख ४५ हजार लखपति छन् । भारतीय घरपरिवारको कुल सम्पत्ति ५० खर्ब डलर रहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२२ सम्म भारतको लखपति जनसङ्ख्या ३ लाख ७२ हजार पुग्ने र यिनीहरूको सम्पत्ति पनि वार्षिक साढे ७ प्रतिशत बढी ७१ खर्ब डलर पुग्ने अनुमान छ । सन् २००० यता भारतमा सम्पत्तिको आकार वार्षिक ९ दशमलव २ प्रतिशत बढ्दै आएको छ । यो विश्वको औसत वार्षिक वृद्धिभन्दा उच्च हो ।

नयाँ शताब्दी शुरू भएयता विश्वको सम्पत्ति वार्षिक ६ प्रतिशतमात्र बढेको छ । भारतमा सम्पत्तिको आकार बढी भए पनि त्यहाँको गरीबी दर निकै उच्च छ । ९२ प्रतिशतभन्दा बढी भारतीय वयस्कको सम्पत्ति १० हजार डलरभन्दा कम हुनुले यसैको सङ्केत गरेको छ । भारतीय कुल जनसङ्ख्याको शून्य दशमलव ५ प्रतिशत वयस्कसँग मात्र १ लाख डलरभन्दा बढी सम्पत्ति रहेको छ । रासस/एपी/पीटीआई


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]