August 14th, 2017

जलविद्युत् कम्पनीहरुको नियमन गर्न छुट्टै आयोग गठन हुँदै

अब जलविद्युत् कम्पनीहरुलाई नियमन गर्न छुट्टै निकायको स्थापना गरिने भएको छ । संसदले हालै पारित गरेको कानुनले विद्युत् कम्पनीहरुको नियमनका लागि छुट्टै नियमकको स्थापना गर्ने व्यवस्था गरेको छ । यो निर्णयले अब जलविद्युत् कम्पनीका कारण सेयर बजारमा हुने गरेको उतारचढाव रोकिने अपेक्षा गरिएको छ । छुट्टै नियमक नहुँदा जथाभावी निर्णय हुने गरेकोले सेयर बजार प्रभावित हुने गरेको थियो । 

संसदले पारित गरेको विद्युत् नियमन आयोग विधेयक २०७३ मा विद्युत् नियमन आयोग स्थापना गरिने उल्लेख छ । उक्त अयोगले मुलुकको जलविद्युत् उत्पादन, प्रशारण, वितरण र व्यापारलाई नियमित र व्यवस्थित गर्नेछ । उक्त आयोगको कार्यक्षेत्र वृहत तथा कार्यकारी अधिकारसहितको हुने भएको छ । आयोगमा एक अध्यक्ष र चार जना सदस्य रहनेछन् । अध्यक्ष तथा समस्य अनुभवी र सम्बन्धित क्षेत्रका विज्ञ हुनेछन् । जसमा एक जना महिला समेत रहनेछिन् ।

आयोग गठन भएपछि विद्युत्को गुणस्तर निर्धारण, विद्युत् महशूल दरको नियमन तथा विद्युत् उपभोक्ताको हक, हितको संरक्षण तथा प्रतिष्पर्धा कायम हुने विश्वास लिइएको छ । आयोगले विद्युत् सेवासम्बन्धी  ग्रिड संहिता जारी गर्ने, अनुगमन गर्ने, विद्युत् सेवाको संचालन तथा मर्मतसम्भारको स्तर कायम गर्ने, राष्ट्रिय विद्युत् प्रणालीको गुणस्तर तथा सुरक्षास्तर कायम राख्न आवश्यक मापदण्ड बनाउने, विद्युत् प्रणाली संचालकको दायित्व निर्धारण गर्ने लगायतका कार्य गर्नेछ । त्यस्तै, विद्युत् महशूल निर्धारण, विद्युत् खरिदविक्रीको नियमन, उत्पादित वस्तु खरिदविक्री गर्ने अनुमतिप्राप्त व्यक्तिबीच विद्युत् खरिद सम्झौता गर्न सहमति प्रदान, प्रशारण तथा वितरण दस्तुर निर्धारण, विद्युत् मूल्यको लागत कम गर्न आवश्यक उपायको पहिचान गरी लागू गराउने लगायतका अधिकार पनि आयोगलाई दिइएको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]