August 16th, 2017

चीन सरकारसँग नयाँ सम्झौता, तीन बुँदामा

नेपाल र चीन सरकारबीच तीन वटा सम्झौता भएको छ । दुई देशबीच आर्थिक तथा प्राविधिक सहयोग, लगानी तथा आर्थिक सहयोग र पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण तथा उत्खननको सम्भावना अध्ययन गर्ने विषयमा सम्झौता भएको हो । उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार र उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा र चीनबाट चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र चीन सरकारबाट सचिव सु च्यानह्वाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार, चीन सरकारले नेपालका मुख्य दुई क्षेत्रमा रू. १७ अर्ब ३४ करोड सहयोग गर्ने भएको छ । चीनले नेपाल–चीन जोडिने विभिन्न पाँच नाकाका साथै खासगरी रसुवाको टिमुरे नाकामा भत्किएका दुईओटा पुल निर्माण, अरनिको राजमार्गका सडक मर्मत सम्भार र पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण तथा उत्खननमा सो रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । अर्थसचिव सुवेदीका अनुसार, आर्थिक तथा प्राविधिक सहयोगअन्तर्गत चीनले रू. १५ अर्ब २४ करोड र पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण तथा उत्खननको सम्भाव्यता अध्ययनका लागि रू. २ अर्ब १० करोड रकम सहयोग गर्ने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]