September 10th, 2017

घरघरमै बसीबसी कसरी तिर्ने विजुलीको बिल ? 

तपाईँलाई थाहा छ ? नेपाल विद्युत् प्राधिकरणको महशुल घरमै बसी बसी बुझाउन सकिन्छ नि । नेपाल विद्युत् प्राधिकरण केही साता अघिदेखि नै विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन प्रणालीबाट सहजैरुपमा महशुल तिर्न सक्ने व्यवस्था गरेको छ । यस व्यवस्था अनुरुप ग्राहकले मोबाइल बैंकिङ सेवामार्फत सहजैरुपमा महशुल तिर्न सक्नेछन् । 

ग्राहकले प्रभु बैंकका कुनै पनि शाखाबाट यो सेवा लिन सक्नेछन् । प्रभु बैंक निजी क्षेत्रमा सबैभन्दा धेरै शाखा संजाल भएको बैंक हो । प्रभु बैंक बाहेक ग्राहकले इ सेवा, महालक्ष्मी विकास बैंक, हिमाल रेमिट, सिटी एक्सप्रेस, पे प्वाइन्ट नेपाललगायतका संस्थाबाट पनि महशुल तिर्न सक्ने व्यवस्था गरिएको छ । प्राधिकरणले महशूल भुक्तानीका लागि सम्झौता गरेका संस्थाको मुलुकभर करिब १५ हजार आउटलेट सञ्चालनमा रहेका छन् । प्राधिकरणका कर्मचारीले मिटर रिडिङ गर्दा दिएको बिलअनुसार आफ्नो नजिक रहेका ती संस्थाको शाखामा गएर महशुल तिर्न सक्ने व्यवस्था गरिएको छ । प्राधिकरणले तोकेको संस्था वा निकायमा महशुल बुझाएपछि ग्राहकलाई बिल भुक्तानी भयो भन्ने सूचना दिनेछ ।

निकट भविष्यमा नेपाल क्लिरिङ हाउसबाट समेत महशुल तिर्न सक्ने व्यवस्था गरिने प्राधीकरणले जनाएको छ । साथमा महिना दिनभित्रमा नै नेपाल टेलिकमको रिचार्ज कार्डबाट समेत महशुल तिर्न सक्ने प्रणालीको विकास गर्ने तयारी भइरहेको बताइएको छ । ग्राहकलाई लामो लाइनमा बस्नुपर्ने, बढी खर्च हुने, घाम पानी तथा अन्य असुविधाबाट टाढा राखेर सेवा दिने लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर यस्तो व्यवस्था गरिएको उर्जामन्त्री महेन्द्रबहादुर शाहीले बताए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]