September 7th, 2017

ग्रामीण क्षेत्रमा फैलिँदैछन्  विकास बैंकहरु

नेपालको वित्तीय क्षेत्रको विकास करिब एक शताब्दी लामो छ । यो बीचमा यो क्षेत्रमा थुप्रै परिवर्तन तथा विकासहरु भए । अहिले डिजिटल फाइनान्स तथा क्यासलेस ट्रान्जेक्सनतर्फ जानुपर्ने विषय समेत उठिरहेको छ । यद्यपि, अझै पनि अधिकांश नेपाली बैंकबारे अन्जान छन् । तथ्याङ्क अनुसार हालको अवस्थामा १८ प्रतिशत नेपाली नागरिकहरु वित्तीय पहुँचभन्दा बाहिर रहेको पाइन्छ । त्यसबाहेक २० प्रतिशत नेपालीहरुले गैरबैंकिङ कारोबार गरिरहेको र २१ प्रतिशत नेपाली नागरिकले अनौपचारिक बैंकिङ पद्धतिको माध्यम अपनाएर वा अन्य विधिबाट वित्तीय कारोबार गरिरहेको पाइन्छ । यसरी हेर्दा करिब ४१ प्रतिशत नेपाली जनता प्रत्यक्ष बैंकिङ पहुँचमा रहेको देखिन्छ । तथापि पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले ल्याएको वित्तीय साक्षरता नीति र नागरिकको चेतनास्तरको बृद्धि जस्ता कार्यले  बैंकिङ पहुँच बृद्धि हुने क्रम बढ्दै गएको छ । तथ्याङ्क अनुसार कुल गार्हस्थ्य उत्पादनको २३ प्रतिशत आर्थिक कारोबार काठमाडौँ उपत्यकामा हुन्छ । त्यस्तै कुल निक्षेपको ६० प्रतिशत र कर्जाको करिब ४० प्रतिशत हिस्सा पनि काठमाडौं उपत्यकामै हुने गर्दछ । मुख्य सहरको हिस्सामा तीनचौथाई भन्दा बढी र सहरबाहेक ग्रामीण क्षेत्रको वित्तीय पहुँच एकचौथाई देखिन्छ ।

अन्तर्राष्ट्रिय परिवेशमा हेर्ने हो भने थुप्रै मुलुकहरु क्यासलेश ट्रान्जेक्सनमा गइसकेका छन् । नेपाल भने अझै पनि बैंकिङ पहुँच विस्तारमा नै जुटिरहेको छ । बैंकिङ पहुँच विस्तारमा एकातिर राष्ट्र बैंकले विभिन्न नीतिहरु ल्याएर सघाइरहेको छ भने अर्कोतिर बैंकहरुले पनि शाखा विस्तार, वित्तीय साक्षरता कार्यक्रम लगायतका कार्यहरुबाट पहल गरिरहेका छन् । मुलुक संघीयतामा गएपछि अब सबै स्थानीय निकायमा वाणिज्य बैंकको शाखा पुर्याउने पहल भइरहेको छ । साथमा विकास बैंकहरुलाई पनि ग्रामीण तथा दुर्गम भेगमा पठाउने व्यवस्था राष्ट्र बैंकले गर्न लागेको छ । यसले वित्तीय पहुँच विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ । 

यता, ग्रामीण भेगमा जानका लागि सुरुमा वाणिज्य बैंकलाई मात्र अघि सारिएकोप्रति विकास बैंकहरु असन्तुष्ट देखिएका छन् । बैंकिङ पहुँच विस्तार तथा दुर्गम भेग तथा विपन्न परिवारसम्म वाणिज्य बैंकहरु भन्दा बढी विकास बैंकहरु पुगेको उनीहरुो दाबी छ । मुलुकमा वित्तीय पहुँचको अवस्था, वित्तीय पहुँच विस्तारमा विकास बैंकहरुको भूमिका लगायतका विषयमा विभिन्न विकास बैंकहरुका सीईओहरुको प्रतिक्रिया यस्तो छ ः

ग्रामीण भेगमा जान हामी सदैव तयार छौँ
गोविन्द ढकाल, सिईओ, गरिमा विकास बैंक

अहिले पनि नेपालका करिब ६० प्रतिशत जनताले बैंकिङ सेवा पाउन नसकेको तथ्यांक छ । प्राय, दुर्गम तथा ग्रामीण भेगमा बैंकहरु पुगेका छैनन् । ग्रामीण भेगमा भौतिक पूर्वाधारहरुको समेत अभाव भएकाले बैंकहरु  विस्तार हुन नसकेका हुन् । ग्रामिण क्षेत्रमा बैंक शाखा स्थापना गर्नका लागि पहिले आधारभूत भौतिक पूर्वाधार तथा शान्ति सुरक्षाको व्यवस्था गरिनुपर्छ । विकास बैंकहरु बैंकिङ पहुँच विस्तारका लागि जुनसुकै ठाउँमा जान तयार छन् । त्यस्ता ठाउँको विकासका लागि त्यस ठाउँका जनतालाई उद्यमी बनाउनका लागि, निक्षेप कलेक्शन गर्नका लागि जुन क्षेत्रमा जान जुन विकास बैंकलाई सहज हुन्छ हामी विकास बैंकहरु छलफल गरेर त्यस्ता ठाउँमा जान तयार छौं । बैंकिङ सेवा शहरकेन्द्रीत हुनु हुँदैन ग्रामिण भेगमा पनि पुग्नु पर्छ भन्ने जुन नेपाल राष्ट्र बैंकको धारणा छ त्यसको कदर गर्दै हामी ग्रामिण भेगका जनतालाई बैंकिङ सेवा दिन सदैव तयार छौं ।

मुसहर र चमार समुदायमा बैंकिङ पहुँच छैन 
तुलसी प्रसाद वस्ती, सिईओ, मितेरी डेभलपमेन्ट बैंक

मितेरी डेभलपमेन्ट बैंकको कार्यक्षेत्र प्रदेश नम्बर १ भित्र छ । हामीले देखेअनुसार, प्रदेश नम्बर १ को बैंकिङ पहुँच राम्रो छ । यस प्रदेशका पहाडी तथा तराईका केहि समूदाय र क्षेत्रमा बैंकिङ पहुँच पुग्न सकेको छैन । बिशेष गरेर प्रदेश नम्बर एकको दक्षिणी बेल्टका मुसहर, चमार लगायतका समुदायमा बैंकिङ पहुँच अलिकति पनि पुग्न सकेको छैन । हामीले विभिन्न कार्यक्रमहरु मार्फत बैंकिङ पहुँच वृद्धिका लागि प्रयास पनि गरिरहेका छौं । यद्यपि, अल्पसंख्यक र पिछडिएका जातजातीमा बैंकिङ पहुँच पुर्याउनका लागि मितेरी डेभलपमेन्ट बैंक एक्लैले गरेर केहि हुँदैन । यसका लागि राज्य नै लाग्नुपर्छ । हामीले त्यस्ता क्षेत्रमा जनचेतनामूलक कार्यक्रमहरु भने आयोजना गर्दै आएका छौँ । तर हामीले जसलाई लक्षित गरेर त्यस्ता कार्यक्रमहरु आयोजना गर्छौँ, उनीहरु नै त्यस्ता कार्यक्रममा आउन चाहाँदैनन् । बिहान बेलुका के खाने भन्ने समस्या परेका हुनाले बैंकिङ चेतना दिन खोज्दा पनि उनीहरु ठूलो रकमको अपेक्षा गर्छन् । कार्यक्रममा सहभागी नै हुन चाहँदैनन् । यसकारण एउटा बैंक एक्लैले गरेर हुँदैन । यसमा राज्यले पनि ध्यान दिनुपर्छ ।

स्थानीयको तहको विकाससँगै बैंकिङ पहुँच पनि पुग्छ
संजीव प्रधान, सिईओ, सिन्धु विकास बैंक

हाल भइरहेका विकासका कामहरु सबै शहरकेन्द्रित भएकाले मानिसहरु शहरमा नै बस्न रुचाउने गरेका छन् । तर, देशको विकास भएको महशूस तब हुन्छ, जब ग्रामिण क्षेत्रको विकास हुन्छ । नेपालमा नयाँ संविधान जारी भए पश्चात बनेको नयाँ संघीय संरचना अनुसार निर्माण भएका सबै स्थानीय तहमा बजेटहरु गएका छन् । अब भने ग्रामिण क्षेत्रमा क्रमशः विस्तारै विकास भइरहेको छ । यससँगै अब बैंकिङ पहुँच पनि पुग्छ । पहिलो कुरा त, ग्रामिण भेगमा बैंकिङ पहुँच वृद्धिका लागि बैंकिङ शिक्षाको आवश्यकता पर्छ । अर्को कुरा, सरकारले पनि ग्रामिण क्षेत्रका लागि स्पष्ट योजनाहरु ल्याउनुपर्छ । ग्रामिण क्षेत्रका जनतालाई विभिन्न कुरामा सहुलियत दिएर सरकारले बैंकिङ पहुँच वृद्धिका लागि आकर्षक योजना ल्याउनुपर्छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]