September 11th, 2017

गभर्नरको कार्यालयमा राष्ट्र बैंकका कर्मचारीको धर्ना, ३० वर्षे सेवाअवधि नहटाउन माग

नेपाल राष्ट्र बैंकले अवकाशका लागि ३० वर्षे सेवा अवधिको प्रावधान हटाउन खोजेको भन्दै सोमबार युनियनको अगुवाईमा कर्मचारीहरुले गभर्नरको कार्यालयमा एक घण्टा धर्ना दिएका छन् । कर्मचारी युनियन र बहुसंख्यक कर्मचारीको विरोधका वावजुद पनि राष्ट्र बैंक व्यवस्थापनले तत्काल एकपक्षीय रुपमा विनियमावली संशोधन गर्न लागेको भन्दै कर्मचारीहरुले धर्ना दिएका हुन् । ३० वर्षे सेवा अवधिको प्रावधान हटाए दोस्रो चरणको आन्दोलन सुरु गर्ने कर्मचारीहरुले बताएका छन् । 

हालसम्म उमेरको हद ५८ वर्ष र सेवा अवधि ३० वर्ष पुगेको अवस्थामा अवकाश लिने नीति रहँदै आएकोमा अबदेखि उमेरको हदको आधारमा मात्रै अवकाश दिने व्यवस्था लागू हुन लागेको हो । राष्ट्र बैंकको आवश्यकता, बैंकलाई पर्ने थप वित्तीय भार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास समेतलाई मध्यनजर गर्दै विभिन्न अध्ययन प्रतिवेदनले सुझाव दिएबमोजिम कार्यरत कर्मचारीको वृत्ति विकासमा पर्ने असरलाई न्यूनिकरण गर्नका लागि यस्तो नीति अवलम्बन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । यद्यपि, ३० वर्षे सेवा अवधि हटाएर केही कर्मचारीहरुको सेवा अवधि लम्ब्याउन लागिएको कर्मचारीहरुको आरोप छ । उमेर हदको आधारमा मात्रै कर्मचारीलाई अवकाश दिँदा राष्ट्र बैंकका ३०२ जना कर्मचारीको जागीर १० वर्ष लम्बिने देखिएको छ । 

हाल राष्ट्र बैंकमा ११ सय २५ जना कर्मचारी कार्यरत छन् । जसमध्ये, कार्यालय सहयोगी स्तरमा एक सय ४३ जना, टेबल वर्क गर्ने अधिकृत स्तरमा छ सय ५९ जना र सहायक स्तरमा तीन सय २३ जना गरी जम्मा नौ सय ८२ जना कर्मचारीबाट मात्रै बैंकको महत्वपूर्ण कार्य सम्पादन गर्नुपर्ने स्थिती देखिएको राष्ट्र बैंकले जनाएको छ । हालको व्यवस्थालाई नै निरन्तरता दिने हो भने २०७५ चैत्र मसान्तसम्ममा ३०२ जना कर्मचारी सेवाबाट निवृत्त हुने देखिएको छ । जसमध्ये, विद्यावारिधी गरेका चार जना, स्नातकोत्तर गरेका ८३ जना, स्नातक गरेका ८९ जना, प्रवीणता प्रमाणपत्र तह उतीर्ण गरेका ४० जना, एसएलसी पास गरेका २९ जना र अन्य ५७ जना कर्मचारी रहेका छन् । यद्यपि, ३० वर्षे सेवा अवधिको प्रावधान हटाउने हो भने यी कर्मचारीहरुको जागीर जोगिने देखिन्छ ।

राष्ट्र बैंक व्यवस्थापनले कर्मचारी युनियनको माग समेट्ने गरि उच्च स्तरीय समिति गठनको आश्वासन दिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]