September 14th, 2017

एनएमबि माइक्रोफाइनान्सले सुरु गर्यो क्षमता अभिबृद्धि तालिम

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले फिल्डमा कार्य गर्ने नयाँ फिल्ड कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले पोखराको नागढुंगा स्थित होटल स्टार रबिमा क्षमता अभिबृद्धि तालिमको आयोजना गरेको छ । तालिमको उद्घाटन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले लघुवित्तले ग्रामीण क्षेत्रको दुरदराजमा रहेका विपन्नवर्गको क्षेत्रमा काम गर्ने भएकोले त्यस्ता क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा आवश्यक ज्ञान, सीप र दक्षता अभिबृद्धि गर्न तालिमको आयोजना गरिएको बताए ।

तालिम, गोष्ठी र कार्यक्रम कर्मचारीको ब्यक्तित्व विकासको महत्वपुर्ण औजार भएकाले हरेक कर्मचारीलाई समय समयमा तालिम आवश्यक रहेको उनले बताए । त्यसैगरी हरेक कर्मचारीहरुमा सकारात्मक सोचाई हुनुपर्ने र कर्मचारीहरु ग्रामीण क्षेत्रको विपन्नवर्ग, समुदायमा काम गर्नुपर्ने भएकाले ठाउँ अनुसार सम्मानजनक ब्यवहार गर्नुपर्ने कुरामा जोड उनले जोड दिए ।

पहिलो दिनको तालिमा सिईओ कोनाजोले लघुवित्तको विश्व इतिहास र नेपालमा यसको सुरुवात बारे प्रकाश पारे । उनले हातमा सीप, जोस जाँगर भएका मिहिनेती तर लगानी गर्ने रकम नभएका बंगलादेशका ४२ जना विपन्न महिलाहरुलाई प्रोफेसर मोहम्मद युनुसले आफ्नो ब्यक्तिगत २७ डलर रकमलाई विनाधितो सामुहिक जमानीमा काम गर्नको लागि कर्जा दिएर लघुवित्तको सुरुवात गरेको जानकारी दिए । उनका अनुसार, ती सबै महिलाहरुले उक्त रकम लगानी गरी मिहिनेतका साथ काम गरेर ६ महिनामै फिर्ता गरिदिएका थिए । त्यसपछि आर्थिक रुपले पछाडी परेता पनि महिलाहरु विश्वासिलो र मिहिनेती हुने भएकोले बंगलादेशका विपन्न महिलाहरुको आर्थिक अवस्था माथि उठाउनको लागि महिलाकै क्षेत्रमा कार्य गर्ने उद्देश्य राखी ग्रामीण बैंकको स्थापना भएको थियो । बैंकले थोरै समयमा महिलाको क्षेत्रमा राम्रो छाप छोड्न सफल भएको थियो । उक्त योगदानको कदरस्वरुप प्रोफेसर युनुसलाई सन् २००६ को शान्तिको लागि नोबेल पुरस्कार प्रदान गरिएको दिए । प्रो. युनुसको यही लघुवित्तको मोडेललाई अनुशरण गर्दै विभिन्न देशहरुमा लघुवित्तको शुरुवात भएको र नेपालमा पनि बंगलादेशको ग्रामीण मोडेलकै लघुवित्त कार्यक्रम प्रचलित रहेको सिईओ कोनाजोले बताए ।

२ दिनसम्म संचालन हुने सो तालिममा वित्तीय संस्थाको परिचय, नेपालमा लघुवित्तको वर्तमान अवस्था, लघुवित्तको फिल्डमा काम गर्ने कर्मचारीहरुमा हुनुपर्ने आवश्यक कुराहरु, फिल्डमा आइपर्ने समस्या तथा चुनौतीहरु र ती चुनौतीहरुको समाधान गर्ने उपायहरुका साथै समुह प्रवेश पुर्व तालिम संचालन प्रक्रियाहरुका बारेमा केन्द्रित रहने जानकारी गराइयो । 

कार्यक्रममा ४५ जना नयाँ कर्मचारीहरुका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुख लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]