January 12th, 2018

उद्यमशीलताको कथा : कौशिला मायाको संघर्षले देखाएको बाटो

कौशिला माया सुनुवारको जन्म उदयपुर जिल्लाको सोरुङ्ग गा.वि.स.–२, विपन्न परिवारमा वि. सं. २०२७ बैशाख १ गते भएको थियो । सामान्य परिवारमा जन्मेकी कौशिलामाया सुनुवारको जेठी छोरीको रुपमा जन्मेकी थिईन् । माईतीमा आमा, बुवा, दुई भाइ, तीन बहिनी सहित आठ जनाको परिवार थियो । माईतीमा प्रशस्त जग्गा जमीन नभएको र भएको जग्गा जमीन पनि भिरालो भएकोले मुश्किलले ४ महिना खान पनि गाह्रो थियो । खानलाउन मुश्किल भएकोले उनका बुबा भारतमा गई मजदुरी गरी आफना सन्तानको लालनपालन गर्दै आएका थिए । मिठो खान र राम्रो लगाउन चाडपर्व नै कुर्नु पर्दथ्यो । पढने ईच्छा भए तापनि स्कूलको ढोका पनि नटेकेको तितो सत्य सम्झन्छिन् । चुल्होचौका, घाँसपात र भाइबहिनीहरुको स्याहार सुसार मै उनको बाल्यकाल बित्यो ।

बाख्रापालनको सुरुवात
हाल उनी सिरहा जिल्ला मिर्चैया नगरपालिका–९ मा बस्दै आएकी छिन् । वि.सं. २०४० सालमा १३ वर्षको कलिलो उमेरमा सोरुङ्गा निवासी चन्द्र बहादुर सुनुवारसँग विवाह भएको थियो । खान बस्न समस्या, परिवारको संख्या बढी भएकोले कष्टकर जीवनबाट पार पाउन दुई वटा बाख्रा पाल्न थालिन् । वि. सं. २०४३ सालतिर उदयपुर छाडी सिरहा जिल्लाको घुर्मिखोला छेउमा ४ कठ्ठा जमीन खनजोत गरी बस्न थालिन् । कैयौं दिन आधा पेट त, कहिले भोकभोकै बसिन् । खर्च बढदै जाँदा छोराछोरीलाई हुर्काउन गाह्रो भएकोले सरसापटी गरी ४ वटा बाख्रापालन गरे तापनि ब्यवसाय गरे जस्तो भएन । पूँजीको अभावले गर्दा बाख्रापालन ब्यवसायबाट पार नलाग्ने भएपछि उनका श्रीमान रोजगारीका भारततिर लागे । उनका श्रीमान भारतमा गई ज्याला मजदुरी गरी मासिक तीन हजार भारु. कमाउन थाले श्रीमानले पठाएको त्यही पैसाले आफनो लालाबालालाई हुर्काउँदै गईन् । तर उनले हरेस नखाई बाख्रापालन ब्यवसायलाई निरन्तर दिई नै रहिन् ।

निर्धन उत्थान बैंकमा आवद्ध भएपछि
उनी २०७२।०८।०७ गते निर्धन उत्थान बैंक लिमिटेडको चोहर्वा शाखा कार्यालयबाट संचालित घुर्मि महिला समाजमा सदस्य रुपमा आवद्ध भईन् । निर्धन उत्थान बैंक लिमिटेडको शाखा कार्यालयको सदस्य हुँदा उनको १०।१२ वटा बाख्रा थिए । उनले रु. ४० हजार पहिलो कर्जा लिई १५।१६ वटा बाख्राको माउ थपिन् । उनले रु. ६० हजार दोश्रो कर्जा लिई १० वटा बाख्राको माउ थपिन र खोर पनि निर्माण गरिन् । उनले रु. ९० हजार तेश्रो कर्जा लिई बाख्रापालन मै लगाईन् । बाख्रापालनले घरको आर्थिक स्थिति सहज बन्दै गएपछि भारत गएका श्रीमानलाई घर बोलाईन् । हाल उनीसँग ६० वटा बाख्राहरु छन् । आम्दानी पनि राम्रै छ । १५ देखि २० हजार मासिक आम्दानी हुने गर्दछ । 

आम्दानीले ४ कोठे पक्की घर बनाएकीछिन् । करिब २५ हजार बचत गरेकीछिन् । गाउँमा बाख्रापालनको नामले उनी परिचित छिन् । समाजले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको छ, सबैले राम्रो ब्यवहार गर्दछन् । श्रीमान छोराछोरीको सहयोगले बाख्रापालनमा सजिलो भएको छ । विदेशिएको जेठो छोराको खासै धेरै कमाई नभएकोले घर फिर्ता बोलाई बाख्रापालन ब्यवसाय विस्तार गर्ने विचारमा छिन् । 

छोराछोरीहरुलाई शिक्षा दिक्षा खर्च पुर्याउन सहज भएको छ । उनी भन्छिन्–“यस बैंकमा सदस्य भएपछि अरुलाई सहयोग गर्ने बानी, बचत गर्ने बानीको विकास भएको छ । १०।१५ जनाको समूहमा बोल्न सक्ने भएकी छु । मेरो जीवनमा निर्धन उत्थान बैंकले सारथीको काम गरेको छ । ग्राहक सदस्यहरुलाई सीप विकास तालिम, उद्यमशीलता विकास तालिम संचालन गरी रहेको छ । म जस्तै कसैले पनि नपत्याउने सबै विपन्न महिलाहरुलाई सक्षम, समृद्ध आत्म निर्भर बनाउने बैंकको अभियान सफल होस । मेरो शुभकामना छ ।”


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]