October 6th, 2017

‘अब सेयर बजार बढ्छ’

नेपालीहरुको महान पर्व बडा दशैंको बिदापछि खुलेको पहिलो दिन हरियाली छाएको सेयर बजार दोस्रो दिन नै ओरालो झरेको थियो । नेपाली राजनीतिमा एकाएक तरंग आएपछि त्यसको प्रभाव नेपालको पूँजी बजारमा समेत परेको सेयर बिश्लेषकहरुको भनाई छ । बाम एकताको चर्चासँगै ओरालो लागेको सेयर बजारमा तत्काल नकरात्मक प्रभाव पारेपनि वाम एकता भए राजनीतिक स्थिरता आउने र पूँजी बजारमा त्यसको सकरात्मक प्रभाव पार्ने धेरैको बुझाई छ । यसै सन्दर्भमा हाथ वे इन्भेष्टमेन्ट नेपालका प्रमुख वित्तीय बिश्लेषक प्रकाश तिवारीसँग बैंकिङ खबर डटकमका रोयल आचार्यले गरेको संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

वर्तमान सेयर बजारलाई यहाँले कसरी हेरिरहनुभएको छ ? 
२०७२ सालमा आएको बिनाशकारी भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण सेयर बजारलाई नकरात्मक असर परेको थियो । त्यसबेला सेयर बजार १२ सय अंकसम्म झरेको थियो । वर्तमान समयमा भने नेपाली सेयर बजारमा सप्लाई एकदमै धेरै भएको छ । नेपाल राष्ट्र बैंकको पूँजी वृद्धिको योजनापछि धेरै हकप्रद तथा बोनश सेयरहरु जारी भएका छन् । जसका कारण हिजो पाँच सय कित्ता हुनेसँग अहिले १५ सयदेखि दुई हजार कित्तासम्म सेयर छ । अहिले बीमा समितिले पनि बीमा कम्पनीहरुको पुँजी वृद्धि गरेको छ । अब बीमा क्षेत्रमा पनि हकप्रद सेयर र बोनश सेयर जारी गर्ने प्रक्रिया तीव्र हुनेछ । पूँजी वृद्धिको योजनापछि सेयर बजारमा धेरै नयाँ नयाँ लगानीकर्ताहरु समेत भित्रिएका छन् । अहिले स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । अब आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनीधिसभाको निर्वाचनपछि देशमा राजनीति स्थिरता आउँछ । यी सबै कुराहरुको सकरात्मक प्रभाव नेपाली पूँजी बजारमा पनि पर्नेछ । 

दशैंलगत्तै नेपाली राजनीतिमा नयाँ तरंग आएको छ । अहिले एकातिर वाम एकताको कुरा चलिरहेको छ भने अर्कोतर्फ लोकतान्त्रिक गठबन्धनको कुराले चर्चा पाएको छ । यसले नेपाली सेयर बजारमा कस्तो प्रभाव पार्छ ?
अहिले छोटो समयका लागि यसले नकरात्मक असर पार्छ । पहिलेदेखि नै नेपालको पुँजी बजारमा कांग्रेस सरकारलाई सकरात्मक रुपमा हेर्ने र कम्युनिष्ट सरकार बन्दा नकरात्मक रुपमा हेर्ने गरिन्छ । तर वास्तवमा कम्युनिष्ट वा कांग्रेस जसको सरकार भए पनि पूँजी बजारमा त्यस्तो असर पर्दैन । वाम एकता वा लोकतान्त्रिक पार्टीहरुको एकता हुनु भनेको राजनीतिक स्थिरता हुनु हो । यसले छोटो समयमा लागि नकारात्मक असर परे पनि दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पर्नेछ । यसका अलावा, निर्धारित समयमा प्रदेशसभा र प्रतिनीधिसभाको निर्वाचन सम्पन्न भएर पहिलेको जस्तो ९/९ महिनामा सरकार परिवर्तन नहुने र स्थिर सरकार हुने हो भने अबको पूँजी बजार उकालो तिर लाग्छ । 

चालु आर्थिक बर्षदेखि धितोपत्र बोर्डले आस्वा प्रणालीलाई अनिवार्य बनाएपछि सेयर बजारमा आकर्षण बढेको हो ? 
शुरुमा मोवाइल भित्रिँदा हामीलाई नै चलाउन आउँदैन थियो, अप्ठेरो लाग्थ्यो । तर अहिले मोवाइल नभई बाँच्न नसक्ने भएका छौं । ठीक त्यस्तै गरी, प्रविधि भित्रिँदा शुरुमा अप्ठेरो लाग्छ । तर दीर्घकालिन रुपमा त्यसको सकारात्मक असर पर्छ । अहिले आस्वा प्रणाली भने पनि बैंकमा लाइन बस्न जानै पर्ने बाध्यता छ । अहिले बैंकहरुले अनलाइनबाटै आस्वा सेवा लिन सकिने प्रबन्ध मिलाएका छन् । यसले पनि नेपालको सेयर बजारलाई सकारात्मक प्रभाव पार्नेछ । 

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ लागू भएपछि यसले पूँजीबजारमा कस्तो प्रभाव परेको छ ?
अहिलेको धितोपत्र निर्देशिकामा दुईवटा कुरा एकदमै टेक्निकल छन् । एउटा संस्थालाई सेयर नदिने र अर्को १० कित्ता सबै आवेदकलाई दिने । १० कित्ता सेयर सबैलाई दिने नियम एउटा एक हिसाबले राम्रो हो । यो व्यवस्थाका कारण सबै आवेदकले सेयर पाउँछन् र नयाँ तथा सानो लगानीबाट सेयर प्रवेश गर्न लागेकाले पनि अवसर पाउँछन् । तर, सबै कम्पनीमा सबैले १० कित्ता मात्रै पाउन सक्ने अवस्था छैन । ठूला ठूला हाइड्रोपावरको सेयर १० कित्ताभन्दा पनि बढी पर्न सक्छ । तर, माइक्रोफाइनान्स लगायतका साना कम्पनीमा सेयर आवेदन दिने सबैले १० कित्ता पाउन सम्भव छैन । तैपनि, यो नयाँ प्रविधि हो । प्रविधिले कारोबारमा धेरै सहजीकरण चाहिँ गर्छ । 

नेपाल र भारतको पुँजी बजारबीच बजारबीच भिन्नता के छ ? 
नेपालको सेयर बजार धेरै पछाडी छ । नेपाली सेयर बजार प्रविधि, नियम कानून, साक्षरता लगायत सबै क्षेत्रमा कमी छौं । नेपाली पूँजी बजार भारत भन्दा २५/३० बर्ष पछाडी छ । नेपालको पूँजी बजार बैंकिङ क्षेत्रले ओगटेको छ । नेपालको पूँजी बजारमा बैंकिङ क्षेत्रको करिब ८० प्रतिशत हिस्सा छ । अन्य क्षेत्र पूँजी बजारमा प्रवेश गरेका छैनन् । भारतमा होटल तथा अन्य कम्पनीहरु धेरैको सहभागिता छ । जसका कारण धेरै क्षेत्रमा लगानी गर्दा एकातिर डुबे पनि अर्को तिर कमाउने स्थिती भारतमा छ । यद्यपि, नेपाली सेयर बजार सीमित क्षेत्रहरु मात्रै छन् ।

पूँजी बजार र बैंकिङ क्षेत्रको सम्बन्ध कस्तो छ ? 
नेपालको पूँजी बजारमा बढी हिस्सा भनेको नै बैंकिङ क्षेत्रको छ । जसकारण नेपाल राष्ट्र बैंकको एउटा पोलिसीले समेत सेयर बजारमा धेरै प्रभाव पार्छ । पूँजी बजारमा धेरै क्षेत्रको सहभागीता हुनु राम्रो हो । एउटा क्षेत्रको बढीमा १५ देखि २० प्रतिशत मात्रै हिस्सा भएको राम्रो हो । 

नेपालमा लगानीको लागि सेयर बजार कत्तिको सुरक्षित छ ? 
सेयर बजारमा जोखिम अवश्य पनि हुन्छ । कतिपय सेयर लगानीकर्ताहरुले लामो समयपछि प्रतिफल पाउने गरी लगानी गरेका हुन्छन् भने कतिपय लगानीकर्ताहरु तत्कालै प्रतिफलको आशा गर्छन् । आफ्नो क्षमता १० लाख छ भने २० लाखको सेयर किन्दा उसले ऋण र कारोबार घटेको तनाबले गर्दा सेयर घट्नासाथ बेच्नुपर्ने हुन्छ । यस्तो अवस्थामा होल्ड गर्न सक्नुपर्छ । वास्तवमा भन्ने हो भने बैंकमा पैसा राखे जस्तो सहज पूँजी बजारमा हुँदैन । जोखिम पनि धेरै हुन्छ र रिटर्न पनि राम्रै आउछ । तर पूँजी बजारमा लगानी गर्न चाहने लगानीकर्ताहरुले हचुवाको भरमा नभएर बुझेर लगानी गर्नुपर्ने हुन्छ । 

आगामी दिनमा पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले कस्तो नीति ल्याउन आवश्यक छ ? 
धितोपत्र बोर्डले नेपालको पूँजी बजारका लागि धेरै नीति निर्माण गर्नु आवश्यक छ । पूँजी बजारलाई निमयन गर्न चाहिने २०/२२ वटा कानून अझै आएको छैन । कस्तो गल्ती गर्नेलाई कस्तो कारबाही गर्ने भन्ने अहिले स्पष्ट नीति छैन । जसका कारण पूँजी बजारमा देखिएका समस्या सहजै समाधान गर्न बोर्डलाई गाह्रो परेको अवस्था छ । सोझा सिधा लगानीकर्ता फसे, डुबे भन्ने समस्या आउन नदिन बोर्डले राम्रो नीति ल्याउनुपर्छ । बोर्डमा दक्ष जनशक्ति नभए सल्लाह लिने जनशक्ति हायर गर्ने गर्नुपर्छ । बोर्ड जति एक्टिभ भएर काम गर्छ नेपालको पूँजी बजार उत्तिकै राम्रो दिशा तिर जान्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]