Thursday , June 29 2017

‘अझै ४० प्रतिशत नागरिकलाई वित्तीय साक्षरता आवश्यक’ : राष्ट्र बैंक भैरहवा शाखाका निर्देशकसँगको अन्तरवार्ता

December 2, 2016

rewati-nepal-2रेवती प्रसाद नेपाल राष्ट्र बैंक भैरहवाका प्रमुख हुन् । लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलका २ गरी ८ जिल्लामा नोटको व्यवस्थापन, आर्थिक गतिविधिको अध्ययन, बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक गतिविधिको प्रत्यक्ष अनुगमन र नियमन व्यवस्थापन नियमनमा उनले प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन् । यसै सन्दर्भमा पछिल्लो समय बैंकिङ हबको रुपमा विकास हुँदै गएको रुपेन्देही र आसपासका जिल्लामा बैंकिङ लगानी, वित्तीय साक्षरताको अवस्था लगायतका विषयमा बैंकिङ खबर डटकमका नवराज कुँवरले उनै नेपालसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ : 
 

पश्चिमाञ्चलमा बैंक तथा वित्तीय संस्थाहरुको अवस्था कस्तो छ ?  
अहिले नेपाल राष्ट्र बैंक भैरहवा शाखाले लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलको २ जिल्ला गरी जम्मा ८ जिल्लामा नोटको व्यवस्थापन, आर्थिक गतिविधिको अध्ययन, बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक गतिविधिको प्रत्यक्ष अनुगमन र नियमन गरी त्यसबारेमा केन्द्रीय कार्यालय काठमाडौँलाई रिपोर्टिङ गर्ने गरेको छ । हामीले मुख्य आर्थिक कारोबार हुने चार जिल्लाहरु रुपन्देही, नवलपरासी, पाल्पा र कपिलवस्तुको आर्थिक गतिविधिको बारेमा केन्द्रीय कार्यालयलाई रिपोर्टिङ गर्ने गर्दछौँ । नेपाल सरकारको मुख्य आर्थिक सल्लाहकारको रुपमा नेपाल राष्ट्र बैंक अनुसन्धान शाखाले काम गर्ने गर्दछ । समग्र आर्थिक गतिविधि तथा नीति निर्माणको लागि सरकारलाई सल्लाह सुझाव दिने काम गर्दछ । सरकारको मौद्रिक नीति जारी गर्दा ती तथ्याङकको भूमिका महत्वपूर्ण मानिन्छ । त्यसैले मुख्यगरी चार जिल्लालाई हामीले निगरानी गरिरहेका हुन्छौँ । यी चार जिल्लामा ३ सय ७१ वटा शाखा बैंकिङ कारोबारमा क्रियाशील छन् । यी मध्ये सबैभन्दा बढी रुपन्देहीमा बैंक तथा वित्तीय संस्थाका १ सय ९७ वटा शाखा रहेका छन् । यसको कुल निक्षेप कुल १ सय १ अर्ब छ भने कुल कर्जा लगानी ९२ अर्ब रहेको छ । यहाँ ११ लाख निक्षेपवाला र १ लाख संख्या ऋणीहरुको छ । यहाँ मुख्य गरी कृषि, उद्योग, सेवा र अन्य क्षेत्रमा लगानी छ । खासगरी कृषिमा राष्ट्र बैंकको नीति अनुसार १५ प्रतिशत् र आगामी ०७४ असारसम्म २० प्रतिशत पुर्याउने नीति लिईएको छ । त्यसै अन्र्तगत हामीले अहिले यसमा ११ अर्ब ७४ करोड कुल कर्जाको १४ प्रतिशत कृषिमा लगानी गर्ने गरी पुर्याएका छौँ । यो नीतिमा लागु गर्न सबैं बैंक तथा वित्तीय संस्थालाई सर्कुलर पठाईसकेका छौँ । हामी तत्काल कारबाही गरीहाल्ने अवस्थामा छैनौँ । 

अब बैंक वित्तीय संस्थाहरुलाई विस्तारै बाध्य बनाउँदै लाने योजनामा छौँ । ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच पुर्याउनुपर्दछ । गरीबीको रेखामुनि २८.८ प्रतिशतको कुरा गरे पनि ग्रमीण भेगका मानिसहरु ७० प्रतिशत भन्दा बढी नै गरीबीको रेखामुनि छन् । नगरपालीकाको अवधारणासँगै ल्याएको तथ्याङक औसतमा २९ प्रतिशत गरीबी भने पनि यथार्थमा धेरै मानिस गरीबीको रेखामुनी छन् । त्यसैले वित्तीय पहुँच दुर दराज र विकट ठाउँमा पनि पुर्याउनुपर्दछ भन्ने राष्ट्र बैंकको ठहर हो । यो क्रम निरन्तर अघि बढी रहेको छ । निराश भैहाल्नु पर्ने अवस्था छैन । त्यसैगरी यहाँका साना तथा ठुला उद्योगले २७ अर्ब लगानी गरेको अवस्था छ । यसमा केन्द्रीय कार्यालयको गणना छैन । केन्द्रीयस्तरबाट गरेको लगानीको गणना हामीले यहाँ गरिदैन । त्यसैले कम देखिएको हो । वास्तवमा लगानी बढी भएको छ । नाकाबन्दिमा पनि रुपन्देही, नवलपरासी र कपिलवस्तु लगायत तराईका केही जिल्लाका उद्योगले धेरै नै राम्रो गरेका छन । बीरगञ्ज नाकामा नाकाबन्दीको बढी प्रभाब परेको थियो भने भैरहवा र सुनौलि नाकामा केही कम प्रभाब परेको थियो जसले गर्दा राजस्व अशुलीमा महत्वपूर्ण सहयोग हुन पुग्यो । उद्योगधन्दाको लागि पनि बैंकिङ क्षेत्र नयाँ हबकोरुपमा आएको छ । यो कुरा राष्ट्र बैंकको र बैंकिङ क्षेत्रको लागि खुशीको कुरा हो ।
 
rewati-nepalराष्ट्र बैंकले ल्याएको पुँजी वृद्धिको योजनाले काठमाडौँमै केन्द्रीय कार्यालय भई सञ्चालिन कतिपय बैंक तथा वित्तीय संस्थाहरु पनि मर्ज भईरहेको अवस्था छ, यो क्षेत्रमा के छ अवस्था ?
केही बाणिज्य बैंकहरु, विकास बैंकहरु र वित्तीय संस्थाहरु गाभिनुपर्ने अवस्था आएको छ । यो ठाउँको सिद्धार्थ फार्ईनान्स् माहालक्ष्मी विकास बैंकमा गाभिएको छ भने पश्चिमाञ्चल विकास बैंक मेगा बैंकमा मर्ज भएको छ । अरु संस्थाले पनि आफ्नो पाट्नर खोजिरहेका छन् । हकप्रद सेयर जारी गरेर हुन्छ कि बोनश सेयर जारी गरेर हुन्छ, पूँजी पुर्याउने योजनामा छन् । अधिकांश संस्थाहरु आफै पूँजी पुर्याउने कसरतमा छन् ।
 
राष्ट्र बैंकको नीति नै बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने र अलि बलियो अवस्थामा राख्ने खालको देखिन्छ ? अपेक्षाअनुरुप बैंक तथा वित्तीय संस्थाको संख्या घटेका छन् त ?
राष्ट्र बैंकको अपेक्षा अनुसार वाणिज्य बैंकहरुको संख्या घटेको देखिदैन । वाणिज्य बैंकहरु १८/२० को हाराहारीमा आउँछन् भन्ने अपैक्षा थियो । तर २५ भन्दा तल झर्लान् जस्तो देखिदैन । विकास बैंकहरु ३० को हाराहारीमा आउन सक्ने आकलन थियो भने वित्त कम्पनीहरु १५/२० मा आईपुग्न सक्ने अपेक्षा थियो । अहिले नेपाल राष्ट्र बैंकले ५ बर्षे योजना पनि बनाएको छ । ‘क’ ‘ख’ ‘ग’ का बैंकहरुलाई बाणिज्य बैंकको प्रकृतिमा राख्ने लघु वित्तीय कम्पनीहरुलाई राख्ने र अर्को प्रकृतिमा पुर्वाधार विकास बैंकहरुलाई ठूला दिर्घकालिन रुपमा आउनुपर्छ भनेर योजना बनेका छन् । राष्ट्र बैंकले यो किसिमको नीतिलाई ड्राफ्ट गरी अर्थमन्त्रालयमा पठाएको छ । त्यसैले यी ‘क’ ‘ख’ ‘ग’ संस्थाहरु छिटै व्यवस्थित र सुदृढीकरण हुने अपेक्षा छ ।
 
यो क्षेत्रमा बैंक तथा वित्तीय साक्षरताको अवस्था के छ ?
यी चार जिल्लामा वित्तीय साक्षरताको हिसाबले रुपन्देही जिल्लामा सबैभन्दा बढी ६४.८ प्रतिशत मानिस वित्तीय साक्षर भएको पाईन्छ । सो संख्यामा बैंक तथा वित्तीय संस्थाबाट कारोवार गर्नुपर्छ भन्ने जानकारी छ । अरु जिल्लामा साक्षरता र कारोवारको हिसाबमा ४० प्रतिशतकै हिसाबमा रहेको बुझिएको छ । हामी जति पहाडी जिल्लामा जान्छौँ, यो प्रतिशत घटेर जान्छ । सिमित सहर र सहरको आसपासमा बस्नेलाई यसको बारेमा थाहा भएको र अन्य व्यक्तिमा कारोवारै गर्न हुँदैन भन्ने संस्कृति छ भने अर्काे बैंकको ऋण लिएर खानु भनेको पाप हो भन्ने प्रचलन छ । उद्यमशिलताको विकास गर्न र वित्तीय साक्षर गराउन नसकेको हो यसको जिम्मेवारी राष्ट्र बैंक, वित्तीय संस्थाहरु र सरकार नै हुन् ।
 
बैंक तथा वित्तीय संस्थाको संख्या बढी भएपनि नेपालमा वित्तीय साक्षरताको अवस्था भने अझै कमजोर नै मानिन्छ । समग्रमा वित्तीय साक्षरता अभिवृद्धि गर्न के गर्नुपर्ला ?  
बैंक तथा वित्तीय संस्थाहरुलाई सुदृढीकरण गरेर शाखा विस्तार गर्नुपर्छ । सहकारीको नीतिलाई पनि उपयोग गर्नुपर्छ । औपचारिक रुपमा वित्तीय पहुँच पुगेको होईन विभिन्न बैंक तथा वित्तीय संस्थाबाट यो सम्भब भएको हो । सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा शाखाहरु खोल्ने गर्नुपर्छ । कम पूँजी भएका स्रोत साधनको कमी भएका बैंकहरुले गाउँमा गएर राम्रो वित्तीय साक्षरता गराउन सक्दैनन् त्यसका लागि मर्ज भएर सो अभियानमा लाग्न राष्ट्र बैंकले बनाएको योजनाअनुसार अघि बढ्नुपर्छ । सहकारी पनि स्रोत साधन सम्पन्न भएकालाई यो वित्तीय साक्षरताको कार्यक्रममा अगाडि बढाएका छौँ । ग्रामीण भेगमा गैर सरकारी संघसंस्थालाई पनि आगाडि बढाउने नीति हामीले सार्ने गरी जान पनि सक्छौं । विभिन्न समुहमा आबद्ध गरेर पनि वित्तीय साक्षरतालाई अगाडि बढाउने योजनामा छौँ । साक्षरतालाई अघि बढाउन प्रचारप्रसारको कार्यलाई अघि बढाउन पर्छ ।
 
rewati-nepal-1नेपालको अर्थतन्त्र रेमिट्यान्समुखी​ अर्थात कमजोर छ तर बैंकिङ क्षेत्र भने सुदृढ छ । यस्तो किन हुन्छ ?
नेपालको अर्थतन्त्र आयातमुखी छ । बैंक तथा वित्तीय क्षेत्रको दीर्घकालिन अवस्था राम्रो छैन । अहिले अनुत्पादनशील क्षेत्रमा लगानी बढी छ र ग्राहक त्यसैमा बढी छन् । त्यसैले फस्टाएको जस्तो देखिएको हो । र अर्काे कुरा बैंक तथा वित्तीय क्षेत्र पारदर्शिताको कारणले पनि नाफामा देखिएका हुन् ।

अन्त्यमा के भन्नुहुन्छ ?
हामी गरीब तर यथेष्ट सम्भावनायुक्त देशका जनताहरु हौँ । बैंक वित्तीय क्षेत्रबाट कारोवार गर्ने गरौँ । यसप्रति जागरुक हौँ । बैंक तपाईँ हाम्रो साथी हुन सक्छ । सुरुमा बैंक वित्तीय संस्थामा कारोबार गर्न झण्झट लाग्न सक्छ । सुरुमा केही प्रक्रियागत झण्झट भएपनि काम गर्दै जाँदा यो क्षेत्रले सहयोग गर्ने छ । यसले समग्र देशको अर्थतन्त्रकै टेवा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले बैंक तथा वित्तीय क्षेत्रबाटै कारोबार गर्न सल्लाह दिन्छु । 

Facebook Comments

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *